सैनामैनामा रास्वपाको बृहत पार्टी प्रवेश

रुपन्देही खबर , ९४  पटक हेरिएको

सैनामैना, पुस २७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैनामा शनिबार बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब २५० जना युवासहित स्थानीय नागरिक रास्वपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा नवप्रवेशीलाई रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, रुपन्देही जिल्ला सभापति डा. बुद्धि शर्मा, सैनामैनाका प्रथम नगर प्रमुख तथा रास्वपा नेता चित्रबहादुर कार्की, क्षेत्र नं. २ का कार्यवाहक सभापति विष्णु पौडेल, क्षेत्रीय सदस्य शोभा खत्री, नगर सभापति राजबहादुर क्षेत्री लगायतका नेताहरूले टीका तथा ब्याज वितरण गरी पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले पुराना नेताहरूको कारण देशमा अपेक्षित परिवर्तन हुन नसकेपछि आफूहरू नयाँ विकल्पको खोजीमा रास्वपामा प्रवेश गरेको बताएका थिए ।

रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेले रास्वपा जनप्रिय हुनुको कारण सत्ता होइन, पार्टीले उठाएका मुद्दा भएको स्पष्ट पार्नु भएको छ । रास्वपा सत्ता केन्द्रित नभई सेवा केन्द्रित पार्टी भएको उल्लेख गर्दै उहाले युवालाई स्वदेशमै बस्न प्रेरित गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्ने उनको भनाइ थियो ।

त्यसैगरी जिल्ला सभापति डा. बुद्धि शर्माले पछिल्लो समय रास्वपाप्रति आम जनसमुदायको आकर्षण तीव्र रूपमा बढ्दै गएको बताउनु भएको छ । रास्वपाको लहरले पुराना दलहरूको जग हल्लिएको दाबी गर्दै उहाले देशलाई अगाडि बढाउने शक्ति अब रास्वपा नै भएको जिकिर गर्नु भयो । प्रत्येक जिल्लाको विकास खाका बनाएर पार्टी अघि बढ्ने योजना रहेको समेत उहाले जानकारी दिनु भयो ।

सैनामैना नगरपालिका वडा नं. २ स्थित ग्लोबल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव लक्ष्मण पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०१-११ , समय : १०:१०:१५ , ९ घन्टा अगाडि