रुपन्देही क्षेत्र नं ४ का लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

रुपन्देही खबर , ८२  पटक हेरिएको

मर्चवार,माघ २

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित बहुउद्देश्यीय सभा हलमा आयोजित एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला रुपन्देहीका मुख्य निर्वाचन अधिकृत आशोककुमार बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ । सार्वजनिक कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

त्यसैगरी माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते दर्ता भएका उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ । माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गरिनेछ भने माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने तथा सोही दिन निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत बस्नेतले निर्वाचन सफल बनाउन राजनीतिक दलहरूको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले शान्ति सुरक्षा कायम राख्न सबै निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-१६ , समय : १५:३५:५५ , ४ घन्टा अगाडि