भैरहवामा जसपा नेपालको नगर, जिल्ला तथा प्रदेश पार्टी कार्यालय उद्घाटन

‘देश वैचारिक द्वन्द्वको चरणमा छ’ : सर्वेन्द्रनाथ शुक्ला

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा, माघ २

जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर, जिल्ला तथा प्रदेश कार्यसमितीको पार्टी कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ उद्योगपुरीस्थित एअरपोर्ट रोडमा उद्घाटन गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा जसपा लुम्बिनी प्रदेशका प्रभावशाली नेता सन्तोष कुमार पाण्डेयले नगर, जिल्ला तथा प्रदेश कार्यसमितीको संयुक्त पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले देश हाल गम्भीर वैचारिक द्वन्द्वको अवस्थामा रहेको बताउनुभयो । उहाँले वैचारिक द्वन्द्वको अवस्था रहेकाले निर्वाचन भएर आउने संसद्मा पनि वैचारिक मतभेद तुरुन्तै अन्त्य नहुने स्पष्ट पार्नुभयो ।

शुक्लाले देशले अहिले सामना गरिरहेको राजनीतिक तथा सामाजिक द्वन्द्वको सामना गर्न सबै तयार रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार देश जटिल परिस्थितिबाट गुज्रिरहेको छ र ती जटिलताबाट निकास खोज्ने चरणमा पुगेको छ । उहाँले वर्तमान अवस्था सबै राजनीतिक शक्ति र नागरिकका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । देशमा रहेका लोकतान्त्रिक शक्तिहरू कमजोर अवस्थामा पुगेको टिप्पणी गर्दै उहाँले अब देखिने चुनौतीहरूले संविधान संशोधनको माग गरिरहेको बताउनुभयो । उहाँले नयाँ शक्ति र पुराना शक्तिबीच संघर्षभन्दा पनि आपसी समझदारी र सामञ्जस्यको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

पूर्व शिक्षामन्त्री शुक्लाले पछिल्लो समय देशमा नयाँ–नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै ती शक्तिहरूले अघि बढाउन खोजेको नयाँ बाटोको दिशा र चिनोफानो आगामी संसद्बाट स्पष्ट हुने बताउनुभयो । उहाँले त्यसका लागि संसद्मा तार्किक बहस, गम्भीर छलफल र जिम्मेवार भूमिका निर्वाह गर्न सक्ने शक्तिहरूको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

शुक्लाले अहिलेको अवस्थामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भइसकेको उल्लेख गर्दै चुनौतीहरूको सामना गर्न दुवै शक्ति एकीकृत रूपमा अघि बढेको बताउनुभयो । प्रतिनिधि सभाका पूर्व सदस्य समेत रहनुभएका शुक्लाले लोसपा–जसपाको एकीकृत शक्तिले आगामी दिनमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जसपा नेपाल लोकतान्त्रिक र परिवर्तनकारी शक्ति भएको उल्लेख गर्दै संघर्षलाई किनारा लगाएर दीर्घकालीन समाधान दिन सक्ने क्षमताको पार्टी भएको बताउनुभयो । जसपा नेपालले अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न सक्ने र देशलाई सही निकास दिन सक्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

यस्तै गरी युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले पार्टीभित्र विगत केही समयदेखि देखिएका असमझदारी र मतभेदलाई बिर्सेर अब एकताको डोरीमा बाँधिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पार्टीभित्र मन नमिलेका विषयहरू भए पनि तिनलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने उहाँको धारणा थियो ।

ढिलै भए पनि आज पार्टी एकजुट भएर कार्यालय सञ्चालनमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै मन्त्री पाण्डेयले यो कदमले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पाँच–पाँच वर्षमा हुने निर्वाचन प्रणाली भए पनि विभिन्न राजनीतिक, संवैधानिक तथा परिस्थितिजन्य कारणले निर्वाचन समयअगावै पनि हुन सक्ने सम्भावना रहने भएकाले त्यस विषयमा जनताले समेत बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीलाई अझ सशक्त बनाउँदै लैजाने योजना रहेको उल्लेख गर्दै आगामी दिनमा जसपा प्रदेशकै सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा स्थापित हुने दाबी गर्नुभयो । उहाँले पार्टीको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमका कारण आम जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको समेत बताउनुभयो ।

यस्तै गरी जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवले कार्यक्रममा बोल्दै पार्टी संगठनलाई जनताको तहसम्म विस्तार गर्ने अभियान तीव्र रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले जसपा नेपाल जनताको दुःख, पीडा र समस्यालाई केन्द्रमा राखेर राजनीति गर्ने लोकतान्त्रिक र परिवर्तनकारी शक्ति भएको उल्लेख गर्नुभयो ।

यादवले लुम्बिनी प्रदेशका जनताले भोगिरहेका शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका समस्या समाधान गर्न जसपा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद बढाउँदै जनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।अध्यक्ष यादवले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र पारिएको उल्लेख गर्दै पार्टीलाई लुम्बिनी प्रदेशकै बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गरी कार्यक्रममा पार्टीको नेतृ तथा लोसपा केन्द्रीय सदस्य विजया खत्री, युवा नेता तथा रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियार लगायतले बोल्दै संगठन सुदृढीकरण, वैचारिक एकता र जनताको पक्षमा राजनीति गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगरस्तरीय नेताहरू, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-१६ , समय : १७:५०:२५ , २ घन्टा अगाडि