१० जना प्रहरी वरिष्ठ उपरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

रुपन्देही खबर , ६५  पटक हेरिएको

काठमाडौँ, माघ ३

नेपाल सरकार, गृहमन्त्रीस्तरको माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्र, जनता तथा संगठनप्रति पुर्‍याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै पदोन्नतिसँगै जिम्मेवारी पनि बढ्ने बताउनुभयो ।

बढुवासँगै प्राप्त थप जिम्मेवारीमा आफूलाई अब्बल प्रमाणित गर्ने विश्वास व्यक्त गर्दै उहाँले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकता दिई सुरक्षा चुनौतीको पहिचान गरी थप सक्रिय र ऊर्जावान भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठाका साथ उत्कृष्ट रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत र प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-१७ , समय : ०५:२९:२७ , २ घन्टा अगाडि