रुपन्देही खबर , ८२ पटक हेरिएको
भैरहवा, माघ ५
जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीले आज भैरहवाको मिलनचोकमा १९औँ बलिदानी दिवस दिप प्रज्वलन गरी मनाएको छ । बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको त्याग र बलिदानकै कारण आज संघीयता, समावेशिता र पहिचानका मुद्दा स्थापित भएको बताउनुभएको छ ।

उहाँले सहिदहरूको सपना अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि निरन्तर राजनीतिक संघर्ष आवश्यक रहेको बताउनु भयो । बिर सहिदहरुले उठाएका माग र मुद्धाहरुलाई स्थापित गर्ने अठोटका साथ जसपा नेपालले प्रत्येक बर्ष बलिदानी दिवस मनाउदै आएको उहाँले जोड दिनु भयो ।
लुम्बिनी प्रदेश अध्यक्ष यादवले बलिदानी दिवस केवल स्मरणको दिन मात्र नभई आत्मसमीक्षा र नयाँ संकल्पको दिन भएको उल्ल्लेख गर्नु भयो । उहाले सहिदहरूको बलिदानलाई सम्मान गर्दै जनताको अधिकार, समानता र न्यायका लागि जसपा नेपाल सधैं अग्रपंक्तिमा रहेर संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यस्तै गरी जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले सहिदहरूको बलिदानकै कारण आज उत्पीडित तथा उपेक्षित समुदायले आफ्नो आवाज बुलन्द गर्न पाएको बताउनुभएको छ । उहाँले विगतका विभिन्न आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाएर देशप्रति सहादत दिने वीर सहिदहरूको सम्मानमा नै बलिदानी दिवस मनाउदै आएको जोड दिनु भयो ।
बलिदानी दिवसप्रति हामी सबै नेपाली ऋणी रहेको बताउँदै उहाँले वीर सहिदहरूको त्यागकै कारण आज हामीले आफ्ना हकअधिकार प्राप्त गर्न सकेको जोड दिनुभयो । जब–जब देशमा परिवर्तनको आवश्यकता पर्छ, तब–तब देशका सपुतहरूले आफ्नो प्राणको आहुति दिनुपरेको इतिहास साक्षी रहेको रौनियारको भनाइ छ । जिल्ला अध्यक्ष रौनियारले सहिदहरूको सपना साकार पार्न पार्टी संगठनलाई जरा तहसम्म मजबुत बनाउँदै जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस्तै, गरी जसपा नेपालका नेता विजय यादवले सहिदहरूको बलिदानलाई व्यवहारमा उतार्न राजनीतिक नेतृत्व इमानदार र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनताको मुद्दा छोडेर स्वार्थ केन्द्रित राजनीतिले सहिदहरूप्रति अन्याय हुने भन्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा जसपाका जिल्ला सचिव बिष्णु अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बलिदानी दिवसको अवसरमा सहिदहरूप्रति दिप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : २३:१०:३३ , २ घन्टा अगाडि