कन्हैया बनियाले रास्वपाबाट रुपन्देही–४ मा उम्मेदवारी दिने

रुपन्देही खबर , ४९  पटक हेरिएको

भैरहवा, माघ ५

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिनु भएका कन्हैया बनियाले अबको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अगाडि बढाउने बताउनु भएको छ । रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ (१) बाट निर्बाचित लुम्बिनी प्रदेश सभा सदस्य बनियाले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राजनीतिक यात्रा रास्वपाबाट सुरु गर्ने बताउनु भएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि आफूले रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने बताउनु भयो । यस अघि उहा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्बाचित हुनु भएको थियो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ क्रान्तिको रुपमा अघि बढेको र यो क्रान्तिलाई रुपन्देहीको मर्चवार क्षेत्रबाट पनि नयाँ उचाइमा पुर्याउनका लागि युवा नेतृत्वको उदय भएको पत्रकार सम्मेलनमा बनियाले भन्नु भयो । उहाले ‘नेपालको भावी प्रधानमन्त्री बालेन साहलाई बनाउन सहयोग पुर्याउन आफनो रास्वापाबाट उम्मेदवारी हुने जानकारी दिनु भयो । रुपन्देही–४ बाट आफूलाई उम्मेदवारीको टिकट रास्वपाबाट पाउने टुँगो लागिसकेको दाबी गर्दै उहाले मंगलवार रुपन्देहीको मझगाँवामा मध्यान्ह १२ बजे उम्मेदवारी दिने जनाउनु भयो । प्रदेश संरचना बलियो बनाउने भूमिका आफ्नो रहने पनि उहाले प्रतिबद्धता गर्नु भयो ।

बनियाले भ्रष्टाचारमुक्त नेपाल र मर्चवार क्षेत्रलाई सुन्दर र समृद्ध बनाउने अभियानमा आफू लाग्ने र लोकतान्त्रिक समाजवादी पार्टीबाट पटक–पटक एउटै व्यक्तिलाई मन्त्री बनाइँदा मर्चवारको विकास हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०१-२० , समय : ०१:१५:१३ , २ घन्टा अगाडि