रुपन्देही खबर , ९६ पटक हेरिएको
भैरहवा,माघ ७
नेपाली काँग्रेसका युवा नेता अर्जुन कुर्मीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१ निवासी कुर्मीले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्यता समेत नरहने गरी काँग्रेस परित्याग गरेको जानकारी दिनुभएको हो ।
कुर्मीले हाल कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने स्पष्ट पार्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खानलाई आफूहरूको समर्थन रहने उहाँले बताउनुभयो ।
देशले परिवर्तन खोजिरहेको अवस्थामा काँग्रेसले रुपन्देही–५ बाट पुरानै अनुहारलाई पुनः उम्मेदवार बनाएकोप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुपरेको कुर्मीको भनाइ छ । ‘एउटै व्यक्तिलाई पटक–पटक उम्मेदवार बनाइँदा युवाले कहिले अवसर पाउने ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कुर्मीले लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ ग्रीन युथ अफ लुम्बिनी लगायत विभिन्न संघ–संस्थामा आबद्ध रहँदै आउनुभएको छ ।
यसैबीच, नेपाली काँग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यसमिति सदस्य जीवन श्रीवास्तवले पनि पार्टी परित्याग गर्नुभएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाकी पूर्व नगर उपप्रमुख जानकी देवी श्रीवास्तवका छोरा श्रीवास्तवले मंगलबार काँग्रेस परित्यागको घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति: २०२६-०१-२१ , समय : ०९:३१:३९ , ८ घन्टा अगाडि