मर्चवारमा ग्यास सिलिण्डर विस्फोट,२८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

रुपन्देही खबर , ७५  पटक हेरिएको

मर्चवार,माघ १०

रुपन्देहीको मर्चवार रहेको एक ग्रिल उद्योगमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक युवकको ज्यान गएको छ।
स्थानीय ओडवलिया चोकमा सञ्चालनमा रहेको रामसरण ग्रिल उद्योगमा शनिबार दिउँसो काम गरिरहेका बेला फलाम काट्न प्रयोग गरिएको ग्यास सिलिण्डर एक्कासि पड्किएको थियो। विस्फोटमा परेर गम्भीर घाइते भएका सम्मरीमाई गाउँपालिका–६ रुपदलापुर निवासी २८ वर्षीय गोविन्द विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते अवस्थामा रहेका विश्वकर्मालाई तत्काल भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएको भए पनि उपचार सफल हुन नसकेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ। मृतक गोविन्द सोही ग्रिल उद्योगका सञ्चालक रामसरण विश्वकर्माका छोरासमेत हुन्।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक धनबहादुर रावलका अनुसार कामकै क्रममा ग्यास सिलिण्डर अचानक विस्फोट हुँदा दुर्घटना भएको हो। “सिलिण्डर पड्किएपछि गम्भीर घाइते भएका युवकको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ,” प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो।

घटनापछि प्रहरीले आवश्यक मुचुल्का उठाई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-२४ , समय : १९:३५:५८ , ५ घन्टा अगाडि