खाद्य गुणस्तरप्रति सचेत हुन उपभोक्तालाई आग्रह

उर्मिला यादव यात्री , ७४  पटक हेरिएको

परासी, माघ ११

खाद्य गुणस्तरप्रति सचेत हुन उपभोक्तालाई एक कार्यक्रमका वक्ताहरूले आग्रह गरेका छन् । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आइतबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बजारमा गुणस्तरहीन तथा म्याद गुज्रेका खाद्य वस्तु खुलेआम बिक्री भइरहेको भन्दै उपभोक्ता स्वयं सचेत नभएसम्म यस्तो समस्या नियन्त्रण हुन नसक्ने बताएका छन् । उनीहरुले दैनिक उपभोग्य खाद्य वस्तु खरिद तथा उपभोग गर्दा म्याद, लेबल र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख धर्मा अर्याल बेलवासेले उपभोक्ता सचेतना बिना बजार सुधार सम्भव नहुने बताउनुभएको छ । उहाँले “उपभोक्ता आफैं सचेत भए मात्र बजारमा हुने ठगी, कालोबजारी तथा गुणस्तरहीन वस्तुको कारोबार नियन्त्रण गर्न सकिने बताउदै यसका लागि सरकारी निकाय र उपभोक्ता दुवै सक्रिय हुन आवश्यक रहेको जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रमको सहजीकरण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाइले खाद्य वस्तुको गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउदै दैनिक उपभोग्य वस्तु खरिद गर्दा म्याद, लेबल तथा भण्डारण अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले “उत्पादन मिति, म्याद सकिने मिति र लेबल नहेरी उपभोग गरिने खाद्य वस्तुले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकोले उपभोक्ता सचेत बनेमा मात्र यस्ता अखाद्य वस्तु बजारबाट हटाउन सकिने बताउनु भयो । उहाँले खाद्य स्वच्छतासँग सम्बन्धित जोखिम, अस्तव्यस्त भान्सा, ट्रान्स फ्याटको स्वास्थ्यमा पर्ने असर लगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाकी शाखा अधिकृत लक्ष्मी शर्माले उपभोक्ता अधिकारको परिचय, उपभोक्ता संरक्षण ऐन, स्वच्छ तथा प्रतिस्पर्धी बजारको अवधारणा, नेपालमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था तथा उपभोक्ता अधिकार र मानव अधिकारबीचको सम्बन्धबारे जानकारी गराउनुभएको थियो ।

उहाँले गुणस्तरहीन वस्तु, त्रुटिपूर्ण उत्पादन तथा लेबलमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विवरणबारे उपभोक्ता संरक्षण ऐनको दफा ६(२) अनुसार स्पष्ट पार्दै उपभोक्ताले ठगी भएको महसुस गरेमा सम्बन्धित निकायमा उजुरी दिन सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराउनु भएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा सहभागी उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले उपभोक्तालाई आफ्ना अधिकारप्रति सचेत गराउँदै स्वच्छ, सुरक्षित तथा प्रतिस्पर्धी बजार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख धर्मा अर्याल बेलवासेको अध्यक्षतामा सम्पन्न भएको थियो

प्रकाशित मिति: २०२६-०१-२५ , समय : २३:०९:१० , ३ घन्टा अगाडि