जसपा नेपाल शुद्धोधनद्वारा अगुवा नेता–कार्यकर्ता भेटघाट

उर्मिला यादव यात्री , ९२  पटक हेरिएको

रुपन्देही, माघ १३

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल शुद्धोधन गाउँपालिका, रुपन्देहीले अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जसपा नेपाल गैडहवा गाउँपालिका अध्यक्ष तौलेश्वर लोधको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले मुलुकमा युवाको सहभागिता, रोजगारी सिर्जना र खेलकुद क्षेत्रको समग्र विकासका लागि जसपा नेपालले स्पष्ट नीति लिएको बताउनुभएको छ । उहाँले जनताको अधिकार, सुशासन र समावेशी विकासको एजेन्डा बोकेको जसपा नेपाललाई फागुन २१ गतेको निर्वाचनमा विजयी गराउनुपर्ने आवश्यकता औँल्याउँदै सबै कार्यकर्तालाई सक्रिय रूपमा चुनावी अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।

यस्तै गरी जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले पार्टी संगठन निर्णायक मोडमा पुगेको उल्लेख गर्दै आगामी निर्वाचनमा जसपा नेपाललाई जिताउनु सबै नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएको बताउनुभयो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनिवास यादवले फागुन २१ गतेको निर्वाचन जनताको पक्षमा परिवर्तन ल्याउने अवसर भएको बताउनुभएको छ । विकास, सुशासन र अधिकार सुनिश्चित गर्न जसपा नेपालको विकल्प नरहेको दाबी गर्दै उहाँले घर–घरमा पुगेर पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डा जनतासम्म पु¥याउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

यस्तै गरी जसपा नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष बच्चुलाल केवटले समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी जसपा नेपाल भएको बताउनु भएको छ । उहाँले आगामी निर्वाचनमा जसपा नेपाललाई विजयी गराउनु नै उत्पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सशक्त बनाउने बाटो भएको बताउनुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश सदस्य सुरेन्द्र धवलले फागुन २१ गतेको निर्वाचन निर्णायक हुने बताउँदै जसपा नेपालले उठाएका एजेन्डा जनताको अधिकार र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्नुभयो। उहाँले सबै नेता तथा कार्यकर्ता एकजुट भएर पार्टीलाई विजयी गराउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो।

जसपा नेपाल गैडहवा गाउँपालिका अध्यक्ष तौलेश्वर लोधले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक अवसरको रूपमा लिन आग्रह गर्दै पार्टी संगठनलाई अझै मजबुत बनाएर घर–घरमा जसपा नेपालको एजेन्डा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

जसपा नेपाल रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जसपा नेपाल गैडहवा गाउँपालिका सहसचिव जय शंकर पाठकले गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा नेपाललाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०२६-०१-२७ , समय : १०:१४:०२ , २ घन्टा अगाडि