नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सिद्धार्थ बालगृहमा भोजनदान तथा खाद्यान्न वितरण

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा, माघ १४

नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा रूपन्देहीस्थित सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना कार्कीले अनाथ बालबालिकालाई सेवा गर्ने अवसर पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले समाजमा मौन रूपमा सेवामा जुटिरहेका सिद्धार्थ बालगृहप्रति नमन व्यक्त गर्दै बालबालिकाहरू राष्ट्रका भविष्य भएकाले उनीहरूको सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्न सङ्घ सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष कार्कीले नेपाल प्रहरी श्रीमती सङ्घले देशका विभिन्न क्षेत्रहरूमा अनाथ बालबालिका, वृद्धवृद्धा तथा महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिइरहेको जानकारी दिनुभयो। साथै, महिला प्रहरी तथा उनीहरूको परिवारको हितका लागि विभिन्न योजनामार्फत काम गर्ने लक्ष्यसहित कार्यक्रमहरू अघि बढाइएको उल्लेख गर्नुभयो।

उहाँले प्रहरी समाजका पहरेदार भएकाले उनीहरूको मनोबल उच्च राख्नु अत्यन्त आवश्यक रहेको बताउँदै परिवार खुसी भए मात्र प्रहरीले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्ने धारणा राख्नुभयो। सोही अनुरूप प्रहरी परिवारका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारका क्षेत्रमा पनि श्रीमती सङ्घले सक्रिय पहल गरिरहेको जानकारी दिनुभयो।

नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीले प्रहरीले समाजसँग सहकार्य गर्दै काम गर्ने परम्परालाई निरन्तरता दिँदै श्रीमती सङ्घ पनि सोही भावना अनुसार अघि बढिरहेको बताउनुभयो।

साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक शाहीले नेपाल प्रहरी श्रीमती सङ्घ समाजको अभिन्न अङ्गका रूपमा सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। कार्यक्रममा रूपन्देहीका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२६-०१-२८ , समय : ११:४७:०२ , २ घन्टा अगाडि