ओमसतियामा विद्यार्थी सवार बस दुर्घटना :२२ जना भन्दा बढी घाइते

रुपन्देही खबर , ११९  पटक हेरिएको

भैरहवा,माघ २०

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा २२ जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । शान्ति नमूना माध्यमिक विद्यालयका विद्यार्थी लिएर परासीतर्फबाट आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे ६ बजेको समयमा दुर्घटनामा परेको हो । बसन्तपुरस्थित टोल गेट नजिकै ट्र्याक्टरसँग ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा र बाँकी ११ जनालाई भीम अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको छ । बिहानको समयमा विद्यार्थी लिएर फर्किने क्रममा बस दुर्घटनामा परेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ

प्रकाशित मिति: २०२६-०२-०३ , समय : १०:००:१६ , ३ घन्टा अगाडि