गोपाल सेवा समिति झापाको जिल्ला अधिवेशन सम्पन्न

२१ सदस्यीय नयाँ जिल्ला समिति चयन

रुपन्देही खबर , ५९  पटक हेरिएको

झापा,माघ २०

गोपाल सेवा समिति झापा जिल्लाको जिल्ला अधिवेशन भेटघाट तथा सम्मान कार्यक्रम भद्रपुर नगरपालिका–५ मा सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष ललन प्रसाद यादवको अध्यक्षता तथा गोपाल सेवा समितिका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि यादवले यादव समुदायभित्र अझै भावनात्मक सम्बन्धको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्य समुदायसँग पनि आपसी भाइचारा र सद्भावको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब अभियानकै रूपमा देशभर सबै जिल्लाहरूको जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रीय अधिवेशन आयोजना गरिने बताउनु भएको छ।

झापा गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष राजकुमार यादवले सहभागी अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव बिरेन्द्र यादवले गर्नुभएको थियो ।

उक्त अधिवेशन तथा भेटघाट कार्यक्रमबाट जितेन्द्र यादवको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । साथै ७ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि गठन गरिएको छ ।नव निर्वाचित जिल्ला कार्यसमितिको
अध्यक्षमा जितेन्द्र यादव,वरिष्ठ उपाध्यक्षमा ललिता यादव,
उपाध्यक्षमा चन्द्रदेव यादव, सचिवमा सत्य नारायण यादव
कोषाध्यक्षमा रेखा कुमारी यादव,सह–सचिवमा अनिल यादव,
सदस्यहरूमा रामचन्द्र यादव, सुरज यादव, भाग्य नारायण यादव, सन्ध्या यादव, देव कुमार यादव, रामु यादव, मनिषा यादव लगायत रहनु भएको छ ।

कार्यक्रममा गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष बजरंग कुमार यादवद्वारा पठाइएको शुभकामना सन्देश प्रमुख अतिथिमार्फत वाचन गरेर सुनाइएको थियो । कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्‍याउने केन्द्रीय सदस्य परासनाथ यादव, केन्द्रीय सदस्य जय नारायण यादव, जिल्ला अध्यक्ष ललन प्रसाद यादव लगायत सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ ।

आयोजक समितिले सम्मानित व्यक्तित्वहरू, नव निर्वाचित जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, अतिथि तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति: २०२६-०२-०३ , समय : १०:३७:३३ , ३ घन्टा अगाडि