रुपन्देही खबर , ५० पटक हेरिएको
मणिग्राम,माघ २२
सरकारले उत्पादन र निर्यातमुखी सशक्त नीति अवलम्बन गरे नेपालमा उद्योग विकासको राम्रो सम्भावना रहेको निष्कर्ष उद्योगीहरूले निकालेका छन्।रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित इण्डष्ट्रि–एकेडेमिया टक (उद्योगीसँग प्राज्ञिक बहस) कार्यक्रममा सहभागी उद्योगी, प्राध्यापक तथा विद्यार्थीबीच उद्योग क्षेत्रका अवसर र चुनौतीबारे प्राज्ञिक–व्यवहारिक विमर्श गरिएको हो।
‘अण्डरस्ट्यान्डिङ बिजनेस थ्रु डायलग’ अर्थात् संवादमार्फत व्यवसाय बुझ्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा उद्योगीहरूले नीतिगत स्थायित्व, उत्पादनमा आधारित उद्योग र निर्यात प्रवर्द्धनमा राज्यको भूमिकाको आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा एस.आर. ग्रुप इण्डष्ट्रिजका प्रबन्ध निर्देशक सुरज उप्रेती र दुर्गालक्ष्मी इञ्जिनियरिङ एण्ड एलुमिनियम इण्डष्ट्रिजका प्रबन्ध निर्देशक माधव रेग्मीले औद्योगिक यात्राका अनुभव, चुनौती र सम्भावनाबारे धारणा राख्नुभयो।
सोही अवसरमा पेशाले उद्योगी समेत रहनुभएका राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले अध्ययन, सकारात्मक सोच र आँट भए औद्योगिक यात्रा सफल हुने बताउनुभयो।क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले क्याम्पसले वृत्तिउन्मुख सिकाइका लागि प्रयोगात्मक तथा प्राज्ञिक गतिविधि निरन्तर गर्दै आएको जानकारी दिनुभयो।
व्यवस्थापन तथा अर्थशास्त्र विभागका संयोजक जगन्नाथ बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन विभाग संयोजक राजेन्द्र थापा, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायत प्राध्यापक, एम.बी.एस. तथा बी.बी.एस.का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपप्राध्यापक कृष्णकुमार रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने क्याम्पस अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले सहजीकरण (मोडरेशन) गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैह्रेले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२६-०२-०५ , समय : १९:४५:१४ , २ घन्टा अगाडि