रुपन्देही खबर , ९५ पटक हेरिएको
काठमाण्डौ,माघ २४
केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।
आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्नेतर्फ बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाइने भएको छ ।
त्यस्तै बैठकमा चुनावमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका विषयमा छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । हिजो बेलुका भएको बैठकमा चुनाव विरोधी गतिविधिलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री एवम् दुरूपयोगलाई रोक्नेलगायतका विषयमा निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-०७ , समय : ११:१३:०६ , ४ घन्टा अगाडि