भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा

एजेन्सी , ६१  पटक हेरिएको

तस्बिर : एजेन्सी

माघ २४

भारत र अमेरिकाबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार दुवै देशले सम्झौताबारे संयुक्त वक्तव्य निकालेर सम्झौताबारेमा जानकारी गराएका हुन् ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत सम्झौता सार्वजनिक गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ता, किसान तथा माछा मार्नेहरूका लागि ३० ट्रिलियन डलरको बजार खुला गरिदिएको उल्लेख गर्नुभएको छ ।

यस्तै भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आउँदो १० वर्षमा रक्षा सहयोग बढाउन अमेरिकासँग एक सम्झौतामा सहमति जनाएको पनि भारतले जनाएको छ । व्हाइट हाउसको तर्फबाट जारी कार्यकारी आदेशमा भारतले रूसबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । यही फेब्रुअरी २ तारिखमा भएको यो सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको ५० प्रतिशत भन्सार शुल्कलाई घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गर्नुभएको थियो । तर सम्झौताबारे थप विवरण सार्वजनिक भएका थिएनन् ।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : २०:३७:२२ , २ घन्टा अगाडि