तिलोत्तमामा असल नेतृत्व वक्तृत्वकला प्रतियोगिता: वडानं. १३ को छनौट सम्पन्न

रुपन्देही खबर , ८९  पटक हेरिएको

तिलोत्तमा,माघ २७

शुभयात्रा नेपाल रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिता अन्तर्गत वडा नम्बर १३ को छनौट कार्यक्रम आज सम्पन्न भएको छ । नगरभित्रका १७ वटै वडाका माध्यमिक तहका विद्यार्थीबीच असल नेतृत्वमा आधारित प्रतिस्पर्धा गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको शुभयात्रा नेपालले जनाएको छ ।

तालिमसहितको प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण ढकालले शुभयात्रा नेपालले अंगीकार गरेको पञ्चसूत्रीय योजनाको प्रशंसा गर्दै वडाका समस्या र सम्भावनालाई उजागर गर्ने खालको वक्तृत्वकला प्रतियोगिता सकारात्मक पहल भएको बताउनुभयो ।

शुभयात्रा नेपाल बनकट्टी समितिका संयोजक सीता कुमारी शर्मा भुषालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजनासहित विभिन्न रचनात्मक क्रियाकलापमार्फत संस्था सक्रिय रहेको बताउनुभयो । उहाँले देवभूमिक्षेत्र (गण्डकी, कर्णाली र कोशी), सातै प्रदेशमा एक–एक वटा गौचरण क्षेत्र, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, फोहरमुक्त नेपाल र पर्यटन प्रवर्द्धन शुभयात्रा नेपालको प्रमुख लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष एवं जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागी विद्यार्थीलाई प्रतियोगिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रस्तुतिपछि सबै सहभागीलाई पृष्ठपोषण गरिएको निर्णायक मण्डलका सदस्य वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रारम्भिक प्रशिक्षण तथा छनौट प्रतियोगितामा शान्ति नमुना माध्यमिक विद्यालयकी प्रकृति पाण्डे प्रथम हुँदै नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्न सफल हुनुभएको निर्णायक मण्डलका संयोजक उमापती न्यौपानेले बताउनुभयो । त्यसैगरी आषिस पाण्डे द्वितीय र शान्ति नमुना माविकै बिपिसा ज्ञवाली तृतीय हुनुभएको निर्णायक मण्डलका सदस्य केशवराज पन्थले जानकारी दिनुभयो ।

वडा कार्यालय तिलोत्तमा–१३ को भवनमा सम्पन्न कार्यक्रममा सीता कुमारी शर्मा भुषालको सभापतित्व, समितिका सचिव टीका कुमारी पाण्डेको सञ्चालन तथा कमला बस्यालको स्वागत रहेको थियो । कार्यक्रममा वडा सचिव हेमा कुमारी बम, वडा सदस्यहरू सम्झना परियार, लिलादेवी छन्तेल, रामप्रसाद कुवर, शुभयात्रा नेपाल नगर समितिका संयोजक ईश्वरीप्रसाद पाण्डे, टिकुलीगढ समितिका संयोजक पुनम चौधरी, सह–संयोजक केशरी उपाध्याय, टोल संयोजक होमबहादुर छन्तेल, बाल सञ्जाल सहजकर्ता सन्तोषी गुरुङ, प्रेम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच वडा नम्बर १५ को छनौट कार्यक्रम माघ २७ गते वडा कार्यालयमै आयोजना हुने नवदुर्गा भवानी समितिका संयोजक उमाशंकर सिंह खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२६-०२-१० , समय : ०८:५४:५६ , २० घन्टा अगाडि