वीरगन्जमा अवैध गोदाममा छापा

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ जना नियन्त्रणमा

रुपन्देही खबर , ९२  पटक हेरिएको

वीरगन्ज, माघ २७

पर्साको वीरगन्जमा अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय समूहले आक्रमण गरेको थियो। आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुईवटा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

छापाका क्रममा टोलीले करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०२६-०२-१० , समय : १३:२९:४५ , १५ घन्टा अगाडि