रुपन्देही खबर , ८४ पटक हेरिएको
काठमाण्डौ,माघ २७
आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ। भारतको चेन्नईमा मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डले यूएईले दिएको १ सय ७४ रनको लक्ष्य १५ ओभर २ बलमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो।
न्युजिल्यान्डको जीतमा टिम साइफर्ट र फिन एलेनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। साइफर्टले अविजित ८९ रन बनाउँदा एलेनले ८४ रन जोडे। दुवैले पहिलो विकेटका लागि १ सय ७५ रनको अविजित साझेदारी गर्दै टी–२० विश्वकप इतिहासमै सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान समेत कायम गरेका छन्।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो। यूएईका कप्तान मोहम्मद वसीमले नटआउट ६६ रनको योगदान दिए। न्युजिल्यान्डतर्फ म्याट हेनरीले २ विकेट लिए। यो जीतसँगै न्युजिल्यान्ड समूह ‘डी’ मा २ खेलबाट ४ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्डले यसअघि अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। यस्तै, आजै भएको अर्को खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ। यो जीतपछि नेदरल्यान्ड्स समूह ‘ए’ मा २ खेलबाट २ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।
टी–२० विश्वकपमा आज बेलुकी सवा ७ बजे समूह ‘ए’ का पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन्। प्रतियोगितामा २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी मार्च ८ मा आयोजना हुनेछ।
प्रकाशित मिति: २०२६-०२-१० , समय : २१:०३:२६ , ८ घन्टा अगाडि