लुम्बिनीमा प्रधानमन्त्री कार्कीको स्थलगत निरीक्षण

रुपन्देही खबर , ७३  पटक हेरिएको

लुम्बिनी, फागुन ९

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै सम्पदा संरक्षण, विकास निर्माण र सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेकी उहाँका साथमा श्रीमान दुर्गा सुबेदी पनि रहनुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्रीले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी लिनुका साथै विकास गतिविधिको प्रगतिबारे चासो व्यक्त गर्नुभयो। उहाँले सम्पदाको संरक्षण कार्यलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन सोचसहित अघि बढाउन निर्देशन दिनुभयो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सुरक्षा तयारी र समन्वय अवस्थाबारे समेत प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्नुभएको बताइएको छ। उहाँले लुम्बिनी विश्वकै साझा धरोहर भएकाले यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले भ्रमणका क्रममा मायादेवी मन्दिरमा पूजाआजा गर्नुभयो। साथै अशोक स्तम्भ, भारत सरकारको सहयोगमा निर्मित संग्रहालय र थाइ बिहारको अवलोकन गर्नुभयो। लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, कार्यकारी सदस्य श्याम रोक्का लगायत पदाधिकारीहरूले प्रधानमन्त्रीलाई हालसम्म सम्पन्न विकास कार्य, दीर्घकालीन गुरुयोजना र देखिएका चुनौतीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले कोष, स्थानीय समुदाय र सरोकारवालाबीच प्रभावकारी समन्वयमार्फत लुम्बिनीको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति: २०२६-०२-२१ , समय : १८:३४:२५ , २ घन्टा अगाडि