‘गौतमबुद्ध विमानस्थलदेखि किसानसम्म’—रुपन्देही–३ मा सुशील गुरुङ्गको विकास प्रतिबद्धता

उर्मिला यादव यात्री , ७३  पटक हेरिएको

भैरहवा, फागुन १४

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ को चुनावी माहोल तातिएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाता आकर्षित गर्न घरदैलो, भेटघाट र साना–ठूला छलफलमा व्यस्त छन् ।

यसैक्रममा सुशील गुरुङ्ग पनि जनमत आफ्नो पक्षमा पार्ने अभियानमा सक्रिय देखिनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गुरुङ्गले विगतमा आफ्नो दलले खेलेको भूमिका र आगामी कार्ययोजनासहित मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ ।

बुधबार सिद्धार्थनगर नगरपालिका–७ का विभिन्न टोलमा घरदैलो गर्दै उहाँले जनताका गुनासा नजिकबाट सुन्नुभएको बताउनुभयो । “जनताले उठाएका हरेक विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नेछु,” उहाँको प्रतिबद्धता थियो ।

रुपन्देही खबरसँग कुराकानी गर्दै गुरुङ्गले रुपन्देही–३ का साझा मुद्दा स्पष्ट रहेको बताउनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को पूर्ण सञ्चालन, एकीकृत भन्सार जाँच चौकी (आईसीपी), विशेष आर्थिक क्षेत्र (सेज) को प्रभावकारी कार्यान्वयन, किसानलाई समयमै मल–बिउबिजन र सिंचाइ सुविधा उपलब्ध गराउने विषय प्राथमिक एजेन्डामा छन् ।

उहाँले लुम्बिनी को प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई व्यवस्थित र आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि सार्नुभएको छ । साथै बेलहिया नाका लाई थप व्यवस्थित बनाउँदै आवागमनलाई सहज र सेवा सुविधालाई प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रलाई सबल बनाउनेतर्फ विशेष ध्यान दिने बताउँदै गुरुङ्गले मलखाद अभाव, उन्नत बीउबिजन, सिंचाइ, कृषि उत्पादनको बजारीकरण र बिचौलिया नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याउनुभयो ।

क्षेत्र नम्बर ३ का ३६ वटै वडामा तालिकाबद्ध रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै शिक्षा र स्वास्थ्यको हबका रूपमा क्षेत्रलाई विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । व्यवस्थित शहरीकरण र दीर्घकालीन पूर्वाधार विकासमार्फत आधुनिक र सुसज्जित सहर निर्माण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

चुनावी सरगर्मी बढ्दै जाँदा विकासका ठोस एजेन्डा अघि सार्दै गुरुङ्गले रुपन्देही–३ लाई पूर्वाधार सम्पन्न, व्यवस्थित र समृद्ध क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभएको छ । जनताको उत्साह र सहभागिताले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले फागुन २१ मा परिवर्तनका पक्षमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : ०९:५०:०१ , २ घन्टा अगाडि