रुपन्देही खबर , ९६ पटक हेरिएको
भैरहवा, फागुन १४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरव बोहरा ‘क्याप्टेन’ यतिबेला चुनावी मैदानमा निकै सक्रिय देखिनु भएको छ । उहाले सियारी गाउँपालिका–१ तथा तिलोत्तमा नगरपालिका–१३ र १४ मा घरदैलो कार्यक्रम गर्दै स्थानीयवासीका गुनासा र सुझाव सुन्दै घरदैलो गर्नु भएको छ

घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नु भएको बोहराले जनताले उठाएका रुपन्देही–३ का प्रमुख समस्यालाई नै आफ्नो चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “जनताले भनेका कुरा नै मेरो प्राथमिकता हो,” उहाले घरदैलोका क्रममा बताउनु भएको छ ।
उहाका अनुसार सरसफाई, प्रभावकारी ढल निकास र तटबन्ध व्यवस्थापन अहिले क्षेत्रको अत्यावश्यक आवश्यकता हो । गाउँदेखि सहरसम्म फोहोर व्यवस्थापन र अव्यवस्थित ढल प्रणालीका कारण जनजीवन प्रभावित भइरहेको उल्लेख गर्दै उहाले दीर्घकालीन समाधानको खाका अघि सार्नु भएको छ ।

मतदानको एक साता मात्र बाँकी रहँदा उहाले चुनावी प्रचारलाई तीव्र बनाउनु भएको छ । घरदैलो, मोटरसाइकल ¥याली र खुला भेटघाटमार्फत दैनिकजसो मतदातासँग भेटघाट गर्दै समर्थन जुटाइरहनु भएको छ ।

बोहराले क्षेत्रका नदी, खोला र तालहरूको संरक्षणबिना समग्र विकास सम्भव नहुने धारणा राख्दै तिनाउ नदी, दानव नदी र डण्डा खोलामा प्रभावकारी तटबन्ध निर्माण गरी बस्ती तथा कृषियोग्य जमिन सुरक्षित गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
उहाले कृषकको हितलाई ध्यानमा राख्दै खेतीयोग्य जमिन जोगाउने विशेष कार्यक्रम ल्याइने तथा सहरी सरसफाईलाई अभियानकै रूपमा सञ्चालन गरिने जानकारी दिनु भयो । वैज्ञानिक फोहोर व्यवस्थापन र सौन्दर्यकरण कार्यक्रममार्फत स्वच्छ र व्यवस्थित रुपन्देही–३ निर्माण गर्ने उहाको दाबी छ ।
सुशासन र दिगो पूर्वाधार विकासलाई आधार बनाएर काम गर्ने उल्लेख गर्दै बोहराले स्थानीय समस्या बुझ्ने र व्यवहारिक समाधान दिन सक्ने नेतृत्वको आवश्यकता औंल्याउनु भएको छ । उहाले मतदातासँग सहयोग र समर्थनको अपिल समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२६-०२-२६ , समय : २२:४८:२८ , ३ घन्टा अगाडि