‘एजेन्डा नै मेरो आस्था हो’ भन्दै अजय गुप्ता राप्रपामा पुनरागमन, रुपन्देही–३ को राजनीतिमा नयाँ तरंग

रुपन्देही खबर , ७२  पटक हेरिएको

भैरहवा, फागुन १४

रुपन्देहीको राजनीतिमा फेरि एकपटक ‘घरफिर्ती’को दृश्य देखिएको छ। २०८२ वैशाख ३० गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता पुनः पार्टीमै फर्किनुभएको छ। बिहीबार भैरहवामा आयोजित कार्यक्रममा नेताहरूको उपस्थितिमा उहाँलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणा लगायतको उपस्थिति रहेको थियो।

मञ्चबाटै आफ्नो निर्णयबारे प्रष्ट पार्दै गुप्ताले राजनीतिक यात्रा मूलतः विचार र आस्थासँग जोडिएको विषय भएको बताउनुभयो।
“९ महिनापछि सक्रिय राजनीतिमा फर्किएको छु। हामी किन टाढा भयौं भन्नेभन्दा अब किन सँगै अघि बढ्ने भन्ने कुरा महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो, “राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र राजसंस्था–हिन्दूराष्ट्रको एजेन्डा मेरो पनि एजेन्डा हो।”

जेनजी आन्दोलनपछिको परिस्थितिबारे संकेत गर्दै उहाँले विगतका असन्तोष र मतभेद समयसँगै पग्लिएको टिप्पणी गर्नुभयो। “रिस, खराब सोच र नकारात्मकता सबै जलेर गएका छन्। अब सकारात्मक ढंगले अगाडि बढ्ने समय आएको छ,” उहाँको भनाइ थियो।

जिल्ला अध्यक्ष सागर प्रताप राणाले पार्टीभित्र फरक मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताउनुभयो। “अजयजी केही समय बाहिर रहनुभयो, तर उहाँको मन र भावना पार्टीमै थियो। आज औपचारिक रूपमा घर फर्किनुभएको छ,” राणाले भन्नुभयो। गुप्तालाई उपयुक्त जिम्मेवारी दिइने संकेत पनि उहाँले गर्नुभयो।

जिल्ला सचिव बलराम शर्माले गुप्ताको पुनरागमनलाई संगठन सुदृढीकरणको सन्दर्भमा महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी एकजुट भएर अघि बढिरहेको छ।

राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय गुप्ता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष, नेपाल–भारत अवध मैत्री समाजका अध्यक्ष, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सिद्धार्थनगर–३, ४ र ५) का अध्यक्ष तथा काशी नोबल एकेडेमी सञ्चालक समितिका उपाध्यक्षलगायत विभिन्न संस्थामा आबद्ध रहँदै आउनुभएको छ।

रुपन्देही–३ मा चुनावी सरगर्मी बढिरहेका बेला गुप्ताको पुनरागमनले संगठनभित्र ऊर्जा थप्ने मात्र होइन, स्थानीय राजनीतिक समीकरणमा पनि नयाँ तरंग ल्याएको आकलन गरिएको छ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : २३:२७:१५ , २ घन्टा अगाडि