रुपन्देही खबर , ८४ पटक हेरिएको
भैरहवा, फागुन १४
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–३ मा चुनावी गतिविधि तिव्र बन्दैछ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार फैज अहमद खाँनले बिहीबार भैरहवाका बुद्धचोक, मिलनचोक र बैकरोड क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्दै मत माग्नु भएको छ ।

खाँनसँगै पार्टीका केन्द्रीय नेता हकीउल्ला खान, प्रचार–प्रसार कमान्डर तिलरबहादुर रोकामगर (डार्विन), र नेताहरु तारा भण्डारी, नरेन्द्र भण्डारी, कमला थापा, मनिष जोशीले सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रमका क्रममा खाँनले विशेषगरी उद्योग–व्यापारमैत्री नीति लागू गर्ने, स्थानीय उद्योगी र व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले फोहोर व्यवस्थापन सुधार्ने र भिम अस्पताललाई १०० शैयासम्म विस्तार गरी स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने योजना पनि अघि सार्नु भएको छ ।
खाँनले भैरहवास्थित बेलहिया नाकाको आर्थिक र रणनीतिक महत्वसमेत औँल्याउनु भयो । उहाले भन्नु भयो , “देशको दोस्रो ठूलो भन्सार नाका भैरहवाले राजश्व संकलनमा ठूलो योगदान दिँदै आएको छ, तर यसको प्रत्यक्ष लाभ जनता अनुभव गर्न सकेका छैनन्।”
सरकारको कर संरचना र भन्सार नीतिको आलोचना गर्दै खाँनले महँगी वृद्धिको मुख्य कारण अव्यवस्थित कर प्रणाली भएको र यसले तस्करीलाई बढावा दिएको बताउनु भएको छ । उहाले व्यापारीमाथि राज्यले अविश्वासको दृष्टिकोण राख्नु दुःखद भएको टिप्पणी गर्दै, “व्यापारीले आफ्नो गाँस काटेर कर तिरिरहेका छन्, उनीहरुलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा सम्मान गर्नुपर्छ,” भनी आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२६-०२-२६ , समय : २३:५७:२४ , ३ घन्टा अगाडि