रुपन्देही खबर , ९३ पटक हेरिएको
भैरहवा, फागुन १५
रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा रहेका गौरव बोहरा यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै सियारी गाउँपालिका र तिलोत्तमा क्षेत्रमा मतदातासँग प्रत्यक्ष संवादमा जुटनु भएको छ ।
घर–घर पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरेका बोहराले नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षा सुन्नु भएको छ । भेटघाटका क्रममा कृषिमा आधुनिक प्रविधिको अभाव, सिँचाइ व्यवस्थाको कमजोर अवस्था, युवाहरूको रोजगारी समस्या, सडक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवाको आवश्यकता जस्ता विषयहरू प्रमुख रूपमा उठाइएको थियो।
स्थानीयले राखेका गुनासा र सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै बोहराले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । रुपन्देही–३ लाई व्यवस्थित, पारदर्शी र विकासमुखी क्षेत्रका रूपमा अघि बढाउने आफ्नो स्पष्ट योजना रहेको उनले बताए। जनसहभागिता र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ थियो।
घरदैलो अभियानमा पार्टीका नेता–कार्यकर्ता सक्रिय रूपमा सहभागी भएका छन् भने स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप उत्साहपूर्ण बनेको बताइएको छ। बोहराको सचिवालयका अनुसार आगामी दिनमा पनि विभिन्न वडा तथा बस्तीहरूमा यस्ता प्रत्यक्ष संवाद कार्यक्रमलाई निरन्तरता दिइनेछ।
चुनाव नजिकिँदै जाँदा रुपन्देही–३ मा घरदैलो र जनभेटघाटमार्फत उम्मेदवारहरू मतदातासँग नजिकिने प्रयासमा देखिएका छन्।
प्रकाशित मिति: २०२६-०२-२७ , समय : १४:११:२६ , ३ घन्टा अगाडि