मर्चवारमा ‘पार्टीभन्दा व्यक्ति’को लहर, रुपन्देही–४ मा स्थानीय मतदाताको झुकाव स्पष्ट

रुपन्देही खबर , १४९  पटक हेरिएको

मर्चवार,फागुन १६

रुपन्देही क्षेत्र नम्बर ४ मा चुनाव नजिकिँदै जाँदा मतदाताको मनोविज्ञान रोचक ढंगले देखिएको छ। ग्रामीण भेगका बासिन्दा यसपटक पार्टीको झण्डाभन्दा उम्मेदवारको व्यवहार, पहुँच र स्थानीय सरोकारलाई प्राथमिकता दिने बताइरहेका छन्।

शनिबार बेथरी चोक र झुलेनिपुर चोकमा भेटिएका स्थानीय मतदाताले प्रतिनिधि सभा सदस्य पदका लागि “पार्टीभन्दा व्यक्ति” रोज्ने स्पष्ट संकेत दिएका हुन्।

बेथरी चोकमा भेटिएकी इन्द्रादेवी लामिछानेले आफू प्रमोद कुमार यादवलाई मतदान गर्ने बताइन्। “सुखदुःखमा भेटिने पार्टी होइन, व्यक्ति हो। प्रमोद जीलाई नै मतदान गर्ने हो,” उनले भनिन्।
उही स्थानका मनोहर मल्लाहले पनि पार्टी नहेरी योग्य र नजिकबाट चिनिएका व्यक्तिलाई मत दिने बताए। उनका अनुसार गाउँका समस्या बुझ्ने र समाधानका लागि सक्रिय देखिने उम्मेदवारलाई समर्थन गर्ने मतदाताको मनस्थिति छ।

झुलेनिपुरमा भेटिएका डा. अकबल अहमदले स्थानीय मुद्दा बुझेको र गाउँमा समय दिने नेताको आवश्यकता औंल्याए। “विगतमा शुक्ला जीलाई सांसद–मन्त्री बनायौं, कन्हैयालाई पाँच वर्ष प्रदेशसभामा पठायौं। काठमाडौं बस्ने आशुतोष जीलाई फेरि मत दिने कुरा भएन। अब यहाँ प्रमोद बाहेक अर्को विकल्प देखिँदैन,” उनले भने।
त्यही स्थानका सुग्रीब प्रसाद यादवले झुलेनिपुरका अधिकांश स्थानीय फागुन २१ को निर्वाचनमा प्रमोदको पक्षमा देखिएको दाबी गरे। राधेश्याम मल्लाहले भने किसानका लागि खाद–मलको सहज व्यवस्था गर्ने प्रतिबद्धता बोकेको उम्मेदवारलाई मत दिने धारणा राखे।
समग्रमा, रुपन्देही–४ मा यसपटक मतदाताको प्राथमिकता स्पष्ट देखिएको छ—पार्टीको प्रभावभन्दा पनि गाउँ–टोलमा उपस्थित हुने, स्थानीय समस्या बुझ्ने र प्रत्यक्ष संवाद गर्ने व्यक्तिप्रति झुकाव बढ्दो छ। चुनावी परिणामले यो मनोविज्ञानलाई कत्तिको प्रतिबिम्बित गर्छ भन्ने चासो भने बढ्दो छ।

प्रकाशित मिति: २०२६-०२-२८ , समय : १३:११:१५ , १६ घन्टा अगाडि