रुपन्देही खबर , १०९ पटक हेरिएको
भैरहवा, चैत १
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग उद्योग–व्यापारको सुरक्षा, तस्करी नियन्त्रण तथा व्यवसाय प्रवर्द्धनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार सङ्घको सभा हलमा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा बढ्दो तस्करी, उद्योग–व्यवसायको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा व्यापार सहजीकरणका विषयमा उद्योगी–व्यवसायी र सुरक्षाकर्मीबीच विस्तृत छलफल भएको थियो।
कार्यक्रमको सुरुवात गर्दै सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध व्यापार गर्ने व्यवसायीलाई सुरक्षाकर्मीले सहयोग गर्नुपर्ने र अवैध व्यापारमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो। उहाँले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै व्यापारिक वातावरण सुरक्षित बनाउन प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष आचार्यले गलामण्डी लगायत विभिन्न स्थानमा रहेका अस्थायी प्रहरी पोस्ट हटाइएका कारण सुरक्षामा समस्या बढेको भन्दै ती क्षेत्रमा पुनः अस्थायी प्रहरी पोस्ट सञ्चालन गर्न आग्रह गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग–व्यवसायको सुरक्षा र औद्योगिक क्षेत्रको संरक्षणमा सुरक्षाकर्मीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले सुरक्षाकर्मी सक्रिय भए धेरै अवैध गतिविधि स्वतः न्यूनीकरण हुने र उद्योगी–व्यवसायीको मनोबल पनि उच्च रहने बताउनुभयो।
उहाँले देश विभिन्न आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै आन्दोलन र अस्थिरताका कारण उद्योग–व्यवसाय प्रभावित भएको बताउनुभयो। यस्तो अवस्थामा उद्योग–व्यवसायलाई माथि उठाउन सरकारी निकाय र सुरक्षाकर्मीले सहयोगी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य भीष्मप्रसाद न्यौपानेले पछिल्लो समय सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि त्यत्तिकै कडाइ आवश्यक रहेको बताउनुभयो।
सङ्घका पूर्वअध्यक्ष तथा महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सामाजिक क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायको हितमा प्रहरी प्रशासनले थप सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो।
सङ्घका निवर्तमान अध्यक्ष तथा युवा व्यवसायी ठाकुरकुमार श्रेष्ठले राज्यले दिएको जिम्मेवारीअनुसार प्रहरी प्रशासनले निष्पक्ष रूपमा काम गरे उद्योग–व्यवसायको वातावरण स्वतः सुधार हुने बताउनुभयो। उहाँले विगतमा व्यवसायीले प्रशासनबाट विभिन्न समस्या झेल्दै आएको उल्लेख गर्दै अहिलेको नेतृत्वले उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै काम गर्नुपर्ने सुझाव दिनुभयो।
सङ्घका सल्लाहकार विष्णुप्रसाद शर्माले सुरक्षा प्रणालीलाई डिजिटल प्रविधिसँग जोड्न सके अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सुरक्षाकर्मीले सकारात्मक सोचका साथ कानुन र नियमको दायराभित्र रहेर काम गरे उद्योगी–व्यवसायी सधैँ सन्तुष्ट रहने बताउनुभयो। उहाँले व्यवसायीलाई तर्साउने वा अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै प्रहरीले चाहेको खण्डमा शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा ठूलो सुधार ल्याउन सकिने बताउनुभयो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता शिव पौडेलले रूपन्देहीमा ट्राफिक व्यवस्थापन कमजोर रहेको भन्दै त्यसतर्फ प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
पेट्रोलियम व्यवसायी राजु पौडेलले इन्धन वितरणका क्रममा किसानले ग्यालेन वा ट्याङ्कीमा डिजेल लैजाँदा प्रहरीले अवरोध गर्ने गरेको गुनासो गर्दै यसलाई सहज बनाइदिन आग्रह गर्नुभयो।
त्यसैगरी व्यवसायी गंगाराम पराजुलीले सीमा क्षेत्रमा अहिले पनि व्यापक तस्करी हुने गरेको बताउँदै दैनिक मोटरसाइकलमार्फत ठूलो परिमाणमा चिनी, किराना तथा खाद्यान्न सामग्री भित्रिने गरेको उल्लेख गर्नुभयो।
सरफ व्यवसायी पशुपति काण्डुले खुला सीमाका कारण स्थानीय व्यवसाय प्रभावित भएको भन्दै भारतबाट हुने अवैध कारोबार नियन्त्रण गर्न आग्रह गर्नुभयो।
नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष श्रीचन्द गुप्ताले सीमा क्षेत्रमा रहेको एकीकृत सुरक्षा चेक पोस्टलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सुनचाँदी व्यवसायी सङ्घ सिद्धार्थनगरका अध्यक्ष राजन बिकले व्यवसायीमाथि अनावश्यक कारबाही नगरी सूक्ष्म अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो।
मोबाइल व्यवसायी हरिश सेठियाले तेस्रो मुलुकबाट भारतमा आउने केही सामग्री खुला सीमाको फाइदा उठाउँदै नेपालमा अवैध रूपमा भित्रिने गरेको भन्दै त्यस्ता सामग्रीको अनुगमन गर्न आग्रह गर्नुभयो।
किराना तथा प्लास्टिक व्यवसाय सङ्घका सचिव झपेन्द्रप्रसाद बेलबासेले तस्करीका कारण स्थानीय व्यवसायी मारमा परेको भन्दै तस्करी नियन्त्रणमा प्रहरी प्रशासनले थप सक्रियता देखाउनुपर्ने बताउनुभयो।
होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष राजेश महोत्राले पर्यटन प्रवर्द्धनका लागि उद्योगी–व्यवसायी, सुरक्षाकर्मी र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा उठाइएका विषयप्रति प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वार्टर रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर सक्रिय भूमिका खेलेको बताउनुभयो। उहाँले भारतबाट चोरी–तस्करी भएर आएका सामान नेपालभित्र कसले खरिद गरी बिक्री वितरण गर्छ भन्ने विषय पनि गम्भीर रहेको भन्दै त्यसतर्फ उद्योग वाणिज्य सङ्घ र व्यवसायीले पनि ध्यान दिनुपर्ने बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या र मर्मप्रति प्रहरी प्रशासन सधैँ सचेत रहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले व्यवहारिक पक्षलाई ध्यान दिइने भए पनि कानुन उल्लङ्घन गर्नेहरूप्रति कडाइका साथ कारबाही गरिने स्पष्ट पार्नुभयो।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलिप काण्डुले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०३-१५ , समय : १३:०३:३८ , २ घन्टा अगाडि