युद्धको असरको हल्लाबीच इन्धन अभाव नहुने

कृत्रिम संकट नबनाउन उद्योगी–उपभोक्तालाई आग्रह

रुपन्देही खबर , ८७  पटक हेरिएको

भैरहवा, चैत ३

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरतापछि नेपालमा इन्धन अभाव हुने हल्ला फैलिन थालेको छ। यसैबीच रूपन्देहीस्थित सिद्धार्थ उद्योग वाणिज्य संघले इन्धनको कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक भण्डारण नगर्न सबै पक्षसँग आग्रह गरेको छ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्व बजारको परिस्थितिले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा केही असर पर्न सक्ने आशंका व्यक्त गरिएको उल्लेख गर्दै हल्लाका कारण उपभोक्तामा त्रास फैलिन थालेको जनाएको छ। आवश्यकताभन्दा बढी इन्धन तथा दैनिक उपभोग्य वस्तु भण्डारण गर्ने प्रवृत्तिले बजारमा असहज अवस्था सिर्जना हुन सक्ने संघको भनाइ छ।

विज्ञप्तिअनुसार हाल ग्यास आपूर्तिमा केही संकुचन देखिए पनि पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा तत्काल कुनै गम्भीर समस्या नरहेको स्पष्ट पारिएको छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यमा असर पर्न सक्ने संकेत गरिएको छ।

संघले उद्योगी तथा व्यवसायीलाई मौज्दातमा रहेका वस्तु सहज रूपमा उपभोक्तासम्म पुर्‍याउन र अतिरिक्त नाफाको लोभमा कृत्रिम अभाव सिर्जना नगर्न सचेत गराएको छ। उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी इन्धन तथा उपभोग्य सामग्री भण्डारण नगर्न अनुरोध गरिएको छ।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आपूर्ति प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको छ। साथै इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउन सरकारले सम्बन्धित निकायमार्फत प्रभावकारी अनुगमन, समन्वय र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरिएको छ।

संघले वर्तमान परिस्थितिमा व्यवसायीले सेवाभावका साथ संयमता अपनाउँदै उपभोक्तालाई सहज सेवा दिन र उपभोक्ताले पनि हल्ला तथा कृत्रिम संकट सिर्जना हुने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-०३-१७ , समय : १३:०९:१४ , २ घन्टा अगाडि