रुपन्देही खबर , ६२ पटक हेरिएको
भैरहवा,चैत ३
सुर्खेतकी इनिशा बि.क.को बलात्कारपछि हत्या घटनाप्रति न्यायको माग गर्दै भैरहवामा आज मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ब्लड अफ बुद्ध भैरहवा क्लबको आयोजनामा भैरहवाको बुद्धचोकमा आयोजना गरिएको थियो।
कार्यक्रममा क्लबका सदस्य, स्थानीयबासी, विद्यार्थी तथा महिला अधिकारकर्मीहरूले सहभागिता जनाउँदै शान्तिपूर्ण रूपमा मैनबत्ती बालेर न्याय सुनिश्चित गर्न र सामाजिक चेतना जगाउन आग्रह गरेका थिए।
संस्थाका अध्यक्ष अमन गुप्ताले बोल्दै भन्नू भयो, “हामी केवल दुःख प्रकट गर्न मात्र होइन, दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न पनि जोड दिँदैछौं। यस्तो क्रूर घटना समाजले सहनु हुँदैन।”
सहभागीहरूले न्यायको माग गर्दै सरकारलाई प्रभावकारी कदम चाल्न अनुरोध गर्दै दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।
कार्यक्रममा सहभागीहरूले शान्तिपूर्ण तर स्पष्ट रूपमा आवाज उठाउँदै इन्साफ र समाजमा महिला सुरक्षा सुनिश्चित गर्न सबैको साझा जिम्मेवारीको महत्त्व औँल्याएका थिए ।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : १७:१८:३४ , २ घन्टा अगाडि