सिद्धार्थनगरमा अब वर्गीकरण नगरेको फोहोर नउठाइने

चैत १७ भित्र फोहोर छुट्याउन आग्रह, अटेर गरे जरिवाना

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा, चैत ५

सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर वर्गीकरण अनिवार्य गर्ने निर्णय गरेको छ। नगरपालिकाले २०८२ चैत १७ गतेसम्म घर, पसल, होटेल, विद्यालय तथा विभिन्न सङ्घ–संस्थाबाट निस्कने फोहोर अनिवार्य रूपमा वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको हो।

नगर कार्यपालिकाको निर्णयअनुसार तोकिएको मितिसम्म फोहोर वर्गीकरण नगरे २०८२ चैत १८ गतेदेखि त्यस्तो फोहोर संकलन नगर्ने व्यवस्था लागू गरिनेछ। प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार नगरपालिकाले स्पष्ट रूपमा कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर छुट्याएर व्यवस्थापन गर्न निर्देशन दिएको छ।

कुहिने फोहोरअन्तर्गत खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी, फलफूलका बोक्रा, सागसब्जी, घाँस, चिया तथा कफीका अवशेषजस्ता सामग्री पर्दछन्। त्यस्तै नकुहिने फोहोरमा प्लास्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानका अवशेष, सिसा, काँच, धातु तथा टिनलगायत सामग्री समावेश छन्।

नगरपालिकाले फोहोर जथाभाबी सडक, पेटी तथा सार्वजनिक स्थानमा फालेमा कानुनअनुसार न्यूनतम ५ हजार रुपैयाँदेखि जरिवाना लाग्ने चेतावनी समेत दिएको छ। वर्गीकरण नगरेको फोहोर संकलन नगरिने भएकाले त्यसको व्यवस्थापन सम्बन्धित व्यक्ति वा संस्थाले आफैं गर्नुपर्नेछ। १३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकाले सबै नगरवासी, व्यवसायी, विद्यालय तथा सङ्घ–संस्थालाई फोहोर वर्गीकरणमा सक्रिय सहयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२६-०३-१९ , समय : १९:१९:०९ , २ घन्टा अगाडि