रुपन्देही खबर , ७६ पटक हेरिएको
रुपन्देही, चैत १०
लुम्बिनी साँस्कृतिक नगरपालिका मा सरसफाई अध्ययन केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । वडा नं. ५ ढोडहवा÷मनोहरपुरस्थित करिब ८ विघा सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त केन्द्र “हरित पार्क” अवधारणासहित फोहोरको चक्रिय व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालका अनुसार केन्द्र निर्माणका लागि नगरपालिकाले करिब ४ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) को प्राविधिक तथा वस्तुगत सहयोग र कोकाकोला फाउण्डेशन को सहकार्यमा परियोजना सम्पन्न गरिएको हो ।
केन्द्रको उद्घाटन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक समारोहका बीच गर्नु भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बुद्धभूमि लुम्बिनीमा फोहोरको समस्या गम्भीर बनेको उल्लेख गर्दै अब यस्तो केन्द्र सञ्चालनमा आएपछि समस्या समाधानतर्फ ठोस कदम चालिएको बताउनु भएको छ । उहाले फोहोरलाई मोहरमा रूपान्तरण गर्ने पहलको प्रशंसा गर्दै दिगो व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गर्नु भयो ।
उहाले प्रदेश सरकारले सरसफाई केन्द्र तथा हरित पार्कको थप विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । साथै, पूर्वअर्थमन्त्री विष्णु पौडेल को पहलमा “ग्रेटर लुम्बिनी” अवधारणाअन्तर्गत १३ अर्ब रुपैयाँको योजना स्वीकृत भइसकेको उल्लेख गर्दै त्यसले क्षेत्रीय विकासमा गति ल्याउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री चन्द्रकेश (सी.के.) गुप्ताले नगरपालिकाको पहलले स्वच्छ नगर निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु भयो । फोहोर व्यवस्थापनबाट रोजगारी सिर्जना र आर्थिक सबलीकरण सम्भव रहेको उहाको भनाइ थियो ।
यस्तै, युएनडिपि र कोकाकोला फाउण्डेशनका प्रतिनिधिहरूले नगरपालिकाको प्रयास सराहनीय रहेको बताउँदै स्वच्छ वातावरणले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयोे । लुम्बिनीमा वार्षिक हजारौँ पर्यटक आउने भएकाले सरसफाई व्यवस्थापन अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरूको धारणा थियो ।
कार्यवाहक मेयर कल्पना हरिजनले नगरलाई वातावरणमैत्री बनाउन फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनु भयो । उहाले दातृसंस्थासँगको सहकार्यले परियोजना सफल भएको उल्लेख गर्दै अब दीर्घकालीन समाधानतर्फ अघि बढ्ने बताउनु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले प्रविधिमैत्री प्रणालीमार्फत फोहोर प्रशोधन गरिने जानकारी दिँदै यसले रोजगारी सिर्जनासमेत गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रवक्ता ईनामुल्लाह फकिर र वडा नं. ५ का अध्यक्ष खुर्शेद आलमले सरसफाई केन्द्रले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सरसफाई अध्ययन केन्द्र स्थापना भएपछि स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
प्रकाशित मिति: २०२६-०३-२४ , समय : २०:४५:१७ , १ घन्टा अगाडि