रुपन्देही खबर , ९० पटक हेरिएको
लुम्बिनी,चैत्र १२
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ मा सडक फराकिलो बनाउने अभियान अन्तर्गत सडक मिचेर निर्माण गरिएका घरटहरा हटाउने काम सुरु गरिएको छ। वडा अध्यक्ष ईनामुल्लाह फकीरको प्रत्यक्ष नेतृत्वमा मुजहना चोकदेखि केवटलिया जाने सडक खण्डमा रहेका अवरोधहरू हटाइएको हो। लामो समयदेखि सडक सीमा (राइट अफ वे) भित्र बनेका भौतिक संरचनाका कारण सडक विस्तार तथा स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन।

बिहीबार वडा कार्यालयले जेसीबी प्रयोग गरी सडक पेटीमा रहेका टहरा तथा अवैध संरचनाहरू हटाएसँगै सडक निर्माणको बाटो खुलेको छ। यससँगै सडकलाई फराकिलो बनाउने र स्तरोन्नति गर्ने प्रक्रिया तीव्र पारिने जनाइएको छ।
वडाको समग्र विकास र यातायातलाई सहज बनाउन सडक विस्तारलाई प्राथमिकतामा राखिएको अध्यक्ष फकीरले बताउनुभयो। “सडक साझा सम्पत्ति हो, यसलाई मिचेर संरचना बनाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै विकासमा अवरोध पुगेको थियो,” उहाँले भन्नुभयो, “वडावासीको हितका लागि यो कदम चालिएको हो र अब निर्माण कार्य द्रुत गतिमा अघि बढाइनेछ।”

सडक क्षेत्र खाली गराउने अभियानमा स्थानीय बासिन्दाहरूले समेत समर्थन जनाएका छन्। मुजहना–केवटलिया सडक खण्ड वडाको एक महत्वपूर्ण मार्ग मानिन्छ, जसले दैनिक आवतजावत र व्यापारिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
सडक फराकिलो भएपछि यस क्षेत्रको यातायात व्यवस्थापनमा सुधार हुनुका साथै व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्थानीयका अनुसार सडक साँघुरो र अव्यवस्थित हुँदा सवारी आवागमनमा समस्या हुने गरेको थियो।
वडा कार्यालयका अनुसार अवरोध हटाइएका स्थानहरूमा तत्काल नाला निर्माण तथा पानी निकासको उचित व्यवस्था गरिनेछ। साथै सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि छिट्टै सुरु गरिनेछ। वडा कार्यालयले विकास निर्माणका कार्यमा अवरोध नगर्न र सडक सीमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गर्दै वडालाई व्यवस्थित र नमुना बनाउने अभियानमा सहयोग गर्न अपिल गरेको छ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : २०:१७:३४ , १ घन्टा अगाडि