आफनो धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने गृहमन्त्री खाणको जोड

उर्मिला यादव यात्री , २२४  पटक हेरिएको

भैरहवा, भदौ १९
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले हामीले आफनो धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । श्री श्री श्री गणेश पुजा सेवा समिती अखाडा नम्बर ४ सिनपा ६ रुपन्देहीले गणेश चतुर्थीको अवसरमा आयोजना गरेको गणेश पुजन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै गृहमन्त्री खाणले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले गणेश पुजा सेवा समितीले गणेश पुजन कार्यक्रम आयोजना गरेर धेरै राम्रो कार्य गरेको बताउनु भएको छ । ईश्वर प्रति सबैको बिश्वास रहेको र ईश्वरले नै बिश्वमा शान्ति स्थापना गर्ने भएकोले समाजमा न्याय स्थापना हुनुका साथै हाम्रो धार्मिक आस्था रहेको समेत बताउनु भएको थियो । गणेश भगवानको स्वरुप नै प्राकृतिक रुपमा नै ईश्वरबाट प्राप्त भएकोले यसले धेरै संदेश दिएको बताउनु भएको छ ।


यस्तै गरी गणेश पुजन कार्यक्रममा बोल्दै समाजसेवी रबिकुमार रौनियारले जब सम्म पृथ्वीमा धार्मिक कर्महरु भैरहन्छन तब सम्म हाम्रो समाजमा कहिल्यै पनि प्रलय नहुने बिश्वास ब्यक्त गर्नु भएको छ । पाच दिन सम्म भएको गणेश पुजन कार्यक्रम एकदमै महत्वपुर्ण भएकोले आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।


गणेश पुजा सेवा समिती अखाडा नम्बर ४ सिनपा ६ रुपन्देहीका अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको गणेश पुजन कार्यक्रममा हिन्दु धर्म संरक्षण समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले बोल्दै हामीले आफनो धर्म र संस्कृतिको संरक्षण गर्दै अघि बढनुपर्ने बताउनु भएको थियो ।

पाच दिन सम्म संचालन भएको गणेश पुजन कार्यक्रममा स्थानिय लगायत सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रममा सहयोग गर्नुहुने समाजसेवी,गणेश पुजन समितीका सम्पुर्ण पदाधिकारी लगायत पत्रकारहरुलाई समेत सम्मान गरीएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : २२:५४:५२ , २ वर्ष अगाडि