रुपन्देही खबर , ८२ पटक हेरिएको
धकधई,चैत २४
रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिकाको संरक्षण, सशक्तीकरण र उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरेको ‘बालिका बिमा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । हालसम्म गाउँपालिकाले ३ सय बालिकालाई बिमा कार्यक्रममा आबद्ध गरिसकेको जनाएको छ।

स्थानीय तहबाट सुरु गरिएको यो कार्यक्रमले विशेषगरी बालविवाह न्यूनीकरण, समयमै जन्मदर्ता तथा विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्तामा नागरिकलाई उत्प्रेरित गर्ने, बालिकाको शिक्षामा सहयोग पु¥याउने तथा आर्थिक रूपमा विपन्न परिवारलाई केही राहत प्रदान गर्ने उद्देश्य राखेको छ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार समाजमा अझै पनि विद्यमान बालविवाह, लैङ्गिक विभेद र शिक्षामा पहुँचको असमानता न्यूनीकरण गर्न यस्तो कार्यक्रम आवश्यक देखिएको हो। “बालिका जन्मिएपछि परिवारमा बोझको रूपमा हेर्ने पुरानो सोच हटाउन र उनीहरूलाई आत्मनिर्भर बनाउने आधार तयार गर्न यो कार्यक्रम ल्याइएको हो,” अध्यक्ष यादवले बताउनु भयो ।
गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड बीच भएको सम्झौताअनुसार गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा जन्मिएका तथा स्वास्थ्य संस्थाले रिफर गरेका गर्भवतीमध्ये छोरी जन्मिएमा ती बालिकालाई स्वतः बिमा योजनामा समावेश गरिन्छ । यसले संस्थागत प्रसूति बढाउन समेत टेवा पुगेको गाउँपालिकाको दाबी छ ।
कार्यविधिअनुसार प्रत्येक बालिकाका लागि गाउँपालिकाले एकपटक २० हजार रुपैयाँ बिमा रकम जम्मा गरिदिने व्यवस्था छ । अभिभावकले चाहेमा थप रकम जम्मा गरी बिमाको दायरा विस्तार गर्न सक्ने प्रावधान समेत राखिएको छ। यसले बालिकाको उच्च शिक्षा, स्वास्थ्य उपचार वा भविष्यका अन्य आवश्यकतामा आर्थिक आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय अभिभावकहरूले पनि कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्। आर्थिक रूपमा कमजोर परिवारका लागि यस्तो सहयोगले छोरीको भविष्यप्रति आशा र भरोसा बढाएको उनीहरूको भनाइ छ। साथै, यसले छोरी जन्मिएको खुशी मनाउने वातावरण सिर्जना गर्न मद्दत पुगेको बताइन्छ ।
गाउँपालिकाले आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गर्दै थप बालिकालाई समेट्ने योजना बनाएको छ । साथै, बिमा कार्यक्रमसँगै बाल अधिकार, शिक्षा र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ ।
स्थानीय तहको यस्तो नविन पहलले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । बालिकाको संरक्षण र सशक्तीकरणतर्फ लक्षित यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा समृद्ध समाज निर्माणमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: २०२६-०४-०७ , समय : ०८:१९:४४ , १ घन्टा अगाडि