रुपन्देही खबर , १२१ पटक हेरिएको
भैरहवा,चैत २९
रुपन्देहीको मायादेवी गाउँपालिकामा विश्व हिन्दु परिषद् नेपालको गाउँपालिका समिति गठन गरिएको छ । शनिबार मायादेवी–६ बेथरीस्थित कोटहीमाई मन्दिर धर्मशालामा आयोजित कार्यक्रममा अरुण कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवगठित समितिको सचिवमा दया शंकर कुर्मी, गौरक्षा प्रमुखमा सुनिल केवट, सत्संग प्रमुखमा प्रदीप प्रजापति, सेवा प्रमुखमा राजकुमार हरिजन, युवा प्रमुखमा विजय शंकर यादव, सम्पर्क प्रमुखमा आकाश कुमार यादव तथा धर्म प्रसार प्रमुखमा निरज यादव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा प्रभाकर यादव, राहुल यादव, कृष्ण यादव, आशिष यादव, उज्जवल यादव, दिनेश शाह र अर्जुन कसौधन रहनुभएको छ भने सल्लाहकारमा रविन्द्र यादव चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघका नगर सेवा प्रमुख विकास यादवले हिन्दू धर्म, संस्कृति तथा परम्पराको संरक्षणका लागि सबै एकजुट भएर संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आधुनिकता र पश्चिमी संस्कृतिको बढ्दो प्रभावका कारण मौलिक मूल्य–मान्यता ओझेलमा पर्न थालेको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनका लागि यस्ता संगठनहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले धर्म केवल आस्थासँग मात्र सीमित नभई जीवनशैली, संस्कार र सामाजिक सद्भावसँग जोडिएको विषय भएको स्पष्ट पार्दै युवापुस्तालाई सही दिशामा मार्गदर्शन गर्न धार्मिक तथा सामाजिक अभियानहरूलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो । समाजमा फैलिरहेका विकृति र विसंगतिविरुद्ध सचेतना फैलाउँदै सकारात्मक सोच विकास गर्न पनि यस्ता समितिहरूको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सबैलाई आ–आफ्नो स्थानबाट धर्म, संस्कृति र परम्पराको संरक्षणमा योगदान दिन आह्वान गर्दै एकता, अनुशासन र सेवाभाव नै संगठनको मुख्य शक्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
यस अवसरमा विश्व हिन्दु परिषद् लुम्बिनी प्रदेशका संगठन सचिव युगल किशोर तिवारी, रुपन्देही जिल्ला सचिव एस.पी. पाण्डे, रोहिणी गाउँपालिका अध्यक्ष मोहन सहानी, ओमसतिया गाउँपालिका अध्यक्ष मोहित द्विवेदी, दुर्गा प्रसाद कान्दु लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।कार्यक्रममा नन्दु यादव, विजय कुमार मौर्या, सुनिल उपाध्याय लगायत स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो
प्रकाशित मिति: २०२६-०४-१२ , समय : १०:२१:१० , २ घन्टा अगाडि