सुशासनतर्फ सरकार प्रतिबद्ध, धैर्य गर्न सांसद् अग्रवालको आग्रह

रुपन्देही खबर , ८४  पटक हेरिएको

भैरहवा,चैत २९

प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले देश हाल जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सुशासन स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा शनिबार आयोजित आस्था महिला उद्यमी संघ सिद्धार्थनगरको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले तत्कालै चमत्कारिक परिवर्तन सम्भव नभए पनि सरकार निरन्तर सुधारका दिशामा अघि बढिरहेको बताउनुभयो ।भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उल्लेख गर्दै उहाँले परिणाम प्राप्त हुन समय लाग्ने भएकाले धैर्य राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाको सशक्तिकरण घरपरिवारबाटै सुरु हुने धारणा राख्दै आत्मविश्वास, लगनशीलता र परिवारको साथले महिलाहरूले ठूलो सफलता हासिल गर्न सक्ने बताउनुभयो । आस्था महिला उद्यमी संघले महिलाको आत्मसम्मान र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले संस्थाको प्रशंसा गर्नुभयो । साथै, आफू पनि उद्यमशील यात्राबाट अघि बढेको अनुभव साझा गर्दै यस्ता संस्थालाई व्यक्तिगत तथा सरकारी स्तरबाट सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

सांसद् अग्रवालले काम परिणाममुखी हुनुपर्नेमा जोड दिँदै महिला, नेपाली र उद्यमी पहिचानप्रति गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो । “जनताको विश्वासले हामीलाई प्रश्न गर्ने स्थानबाट उत्तरदायी बन्ने ठाउँमा पुर्‍याएको छ,” उहाँले भन्नुभयो, “त्यसैले प्रशंसाभन्दा प्रश्नले नै हामीलाई अझ जिम्मेवार बनाउँछ ।”

कार्यक्रममा संघकी अध्यक्ष मिनिता थापा, महासचिव पवि खनाल, चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्का, निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली लगायतले महिला उद्यमशीलता र संस्थागत विकासका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति: २०२६-०४-१२ , समय : १०:५८:४० , २ घन्टा अगाडि