रुपन्देहीमा २२ लाखभन्दा बढीका अवैध सामान बरामद, तस्करी नियन्त्रणमा चुनौती

रुपन्देही खबर , ८३  पटक हेरिएको

भैरहवा,वैशाख ५

रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाउँदै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट मात्रै १३ लाख १७ हजार ४ सय रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको छ। सो क्रममा तस्करीमा प्रयोग भएका तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

यस्तै, सिद्धार्थनगर–२ जंगलटोलबाट ७ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरिएको छ भने बेलहिया क्षेत्रबाट केरा र कस्मेटिक सामानसहित साइकलहरू पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ बभईबाट भने जिउँदो बोइलर कुखुरा र मोटरसाइकलसहित अन्य सामान पनि बरामद गरिएको छ। सबै बरामद सामग्री भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको दाबी गरे पनि तस्करी भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। स्थानीयका अनुसार विशेषगरी रातिको समयमा मोटरसाइकलमार्फत हुने तस्करी अझै रोकिएको छैन। स्थानीय बासिन्दाले रातिको गस्ती थप कडा बनाउन र तस्करीको जालो तोड्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२६-०४-१८ , समय : ०९:३२:४५ , २ घन्टा अगाडि