सम्भावनाले भरिएको बर्दघाट नगरपालिका,पर्यटन विकासको नयाँ आशा

रुपन्देही खबर , ८५  पटक हेरिएको

नवलपरासी, बैशाख ८

नेपाल पत्रकार महासंघ नवलपरासीले बर्दघाट नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको स्थलगत अवलोकन गरेको छ। सोमबार भएको अवलोकनपछि बर्दघाट क्षेत्र आन्तरिक पर्यटनको नयाँ ‘हटस्पट’का रूपमा विकास हुन सक्ने निष्कर्ष निकालिएको छ।

महासंघका उपाध्यक्ष विकास अधिकारीको नेतृत्वमा गरिएको भ्रमणमा सहभागी पत्रकारहरूले बर्दघाटमा पर्यटनका विविध आयाम रहेको औंल्याएका हुन्। उनीहरूका अनुसार यहाँका स्थलहरू व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ।

बर्दघाट–५ मा रहेको कञ्चनगढी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। यहाँ स्थापना गरिएको भगवान् शिवको विशाल मूर्ति, भेटिएका पुरातात्विक अवशेष, बाल उद्यान, झोलुङ्गे पुल, चमेरो गुफा र झर्नाजस्ता संरचनाले क्षेत्रलाई आकर्षक बनाएका छन्। कञ्चनगढी नेपाल सरकारले सूचीकृत १०० पर्यटकीय गन्तव्यभित्र पर्नु यसको थप विशेषता हो। वडा अध्यक्ष बिमला गुरुङका अनुसार यस क्षेत्रको थप प्रवर्द्धन आवश्यक छ।

यस्तै, बर्दघाट–१६ स्थित बनदेवी मन्दिर थारु समुदायको गहिरो आस्थासँग जोडिएको छ। स्थानीयका अनुसार २०२९/३० सालतिर बसोबास सुरु हुँदा नै मन्दिर फेला परेको थियो। थारु समुदायमा नयाँ अन्न उत्पादन भएपछि पहिलो अर्पण बनदेवीलाई चढाउने परम्परा अझै जीवित छ, जसले यसको सांस्कृतिक महत्व झल्काउँछ।

बर्दघाट–१२ को दबिलामा रहेको बुद्ध मंगल ताल धार्मिक र पर्यापर्यटन दुवै दृष्टिले महत्वपूर्ण गन्तव्य बनेको छ। भगवान् गौतम बुद्धसँग सम्बन्धित मानिने यस तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ। करिब सात बिघा क्षेत्रफलमा फैलिएको ताल वरपर सरस्वती मन्दिर, शिवालय, गुम्बा, १०८ शिवलिङ्ग र सामुदायिक वन निर्माण गरिएका छन्। सिमसार क्षेत्र भएकाले यहाँको जैविक विविधता पनि उल्लेखनीय छ।

त्यसैगरी, बर्दघाट–१० मा रहेको बाउन्न घोला सिमसार क्षेत्रलाई संरक्षणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ। पोखरी, पुल र तारबारजस्ता पूर्वाधार निर्माण गरिएकाले पर्यटकको आकर्षण बढ्दो छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठले जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।

शान्त वातावरण, प्राकृतिक सौन्दर्य र सहज पहुँच बर्दघाटका मुख्य विशेषता हुन्। पूर्व–पश्चिम राजमार्गसँगको नजिकताले यात्रुहरूलाई सहज रूपमा यहाँ रोकिने वातावरण बनाएको छ, जसका कारण दैनिक आन्तरिक पर्यटकको संख्या बढिरहेको छ।

समग्रमा बर्दघाटका पर्यटकीय स्थलहरू धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको समिश्रणका रूपमा विकसित भइरहेका छन्। दीगो व्यवस्थापन र प्रभावकारी प्रवर्द्धन गर्न सके यस क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०४-२१ , समय : ०९:३०:३८ , २ घन्टा अगाडि