रुपन्देही खबर , ९३ पटक हेरिएको
भैरहवा, बैशाख ११
प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा गोल्छालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सेबोनको जाँचबुझले ब्रोकरसँगको मिलेमतोमा कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गर्ने कार्यमा गोल्छा पनि संलग्न रहेको देखाएको थियो ।
हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा कसुर गरेको आरोप लागेको छ । काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि गोल्छालाई काठमाण्डौको नक्सालबाट पक्राउ गरेको सिआइबीले जनाएको छ ।
गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पुर्जी दिएको र अनुसन्धानका लागि हिजो पक्राउ गरेको ब्युरोले जनाएको छ । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका छ ।
प्रकाशित मिति: २०२६-०४-२४ , समय : ०९:३०:५३ , २ घन्टा अगाडि