रुपन्देही खबर , ६३ पटक हेरिएको
भैरहवा,बैशाख २३
नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित हुनु भएको छ। गएराति सार्वजनिक मतपरिणाम अनुसार जिल्ला–नगर उपाध्यक्षतर्फ उहाँ अत्याधिक मत ल्याएर विजयी हुनु भएको हो।
शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ। उहाँ अञ्जन श्रेष्ठ समूहबाट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रनु भएको थियो। शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष समेत हुनु हुन्छ।
निजी क्षेत्रको नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका शर्मा २०६७ सालदेखि निरन्तर महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा कार्यरत हुनु हुन्छ। यसअघि उहाँले तत्कालीन लुम्बिनी अञ्चलबाट दुई वर्ष कार्यकारिणी सदस्यको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो।
उहाँले २०५१ देखि २०५८ सालसम्म सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा काम गर्नु भएको थियो। त्यसपछि २०५८ देखि २०६० सम्म कोषाध्यक्ष, २०६० देखि २०६२ सम्म उपाध्यक्ष र २०६२ देखि २०६४ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठनलाई नेतृत्व दिनु भएको थियो।
करिब तीन दशकदेखि निजी क्षेत्रको हकहितमा सक्रिय रहँदै आउनु भएका शर्माको विजयले रुपन्देहीसहित लुम्बिनी प्रदेश र समग्र निजी क्षेत्रमा उत्साह थपिएको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिबहादुर थापाले बताउनु भएको छ।
प्रकाशित मिति: २०२६-०५-०६ , समय : १२:३७:३५ , ५३ मिनेटutes अगाडि