ओमसतिया गाउँपालिकामा कानुनी प्रशिक्षण सम्पन्न,सुशासन र न्यायिक पहुँचमा जोड

रुपन्देही खबर , ९१  पटक हेरिएको

भैरहवा,बैशाख २५

ओमसतिया गाउँपालिकाले कानुन दिवसको अवसरमा कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक सुनिता चौधरीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले स्थानीय तहमा कानुनको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले कानुनी सचेतना अभिवृद्धि बिना सुशासन र दिगो विकास सम्भव नहुने उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले स्थानीय तहमा कानुनप्रतिको बुझाइ वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले गाउँपालिकाले नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने तथा पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै कानुनको पालना सबैका लागि अनिवार्य रहेको बताउनु भयो। साथै, समाजमा देखिने विभिन्न विवाद तथा समस्याहरूलाई कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने भएकाले सबैले कानुनप्रति सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, गरि गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीले स्थानीय स्तरमै छिटो, सुलभ र प्रभावकारी रूपमा न्याय प्रदान गर्नु न्यायिक समितिको प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले न्यायिक समितिमार्फत आएका उजुरीहरूलाई कानुनी प्रक्रिया अनुसार निष्पक्ष रूपमा समाधान गर्ने गरिएको जानकारी दिँदै नागरिकलाई आफ्नो समस्या समाधानका लागि स्थानीय तहमै उपलब्ध कानुनी संयन्त्र प्रयोग गर्न आग्रह गर्नुभयो।

उहाँले विशेष गरी महिलाहरू, दलित, गरिब तथा सीमान्तकृत समुदायका व्यक्तिहरू न्यायबाट वञ्चित नहुने वातावरण सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कानुनी सचेतनाको अभावका कारण धेरै नागरिक आफ्नो अधिकार प्रयोग गर्नबाट वञ्चित हुने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, अधिकारको प्रयोगसँगै कर्तव्यको पालना पनि उत्तिकै आवश्यक रहेको बताउँदै सबै नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्नुभयो।

यस्तै गरि कार्यक्रमको महत्त्व र उदेश्य माथी प्रकाश पार्दै ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले स्थानीय तहमा कानुनको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि र नागरिक दुवै पक्ष सचेत हुन आवश्यक रहेको बताउनुभएको छ।

उहाँले कानुनको ज्ञान बिना अधिकारको प्रयोग र कर्तव्यको पालना प्रभावकारी नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान प्रदान गर्दै स्थानीय स्तरमै कानुनी सचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने जोड दिनु भयो ।

उहाँले न्यायबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने राज्यको मूल उद्देश्य रहेको स्पष्ट पार्दै ‘कानुन जान्दिनँ’ भनेर कसैले पनि उम्किन नपाउने बताउनुभयो। राज्यले बनाएको कानुन सबैका लागि समान हुने र यसको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको उहाँले जोड दिनुभयो।

कानुनले कसैलाई पनि छुट नदिने भएकाले यसको सम्मान र कार्यान्वयनमा सबैको समान सहभागिता आवश्यक रहेको पन्थीले बताउनुभयो।

कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ता तुलसीराम ढकालले कानुन व्यक्ती, सम्पत्ति, कर्तव्य र अधिकारको समग्र संरक्षण र व्यवस्थापन गर्ने आधार भएको उल्लेख गर्नुभएको छ।

उहाँले कानुनले व्यक्तिको जीवन र स्वतन्त्रताको सुरक्षा गर्नुका साथै सम्पत्तिको संरक्षण गर्ने काम गर्ने बताउनुभयो। साथै, नागरिकका अधिकार सुनिश्चित गर्दै कर्तव्य पनि निर्धारण गर्ने भएकाले दुवै पक्षबीच सन्तुलन आवश्यक रहेको उहाँको भनाइ थियो।

ढकालले समाजलाई व्यवस्थित, अनुशासित र न्यायपूर्ण बनाउन कानुनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै व्यक्ती, सम्पत्ति, कर्तव्य र अधिकारबीचको सम्बन्धलाई स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको बताउनुभयो। साथै, कानुनी सचेतनाको अभावले नागरिकलाई आफ्ना अधिकारबाट वञ्चित गराउने भएकाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।

गाउपालिका कार्यपालिका सदस्य शेर सिंह थकालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा गाउपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मदन प्रसाद पोख्रेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गाउपालिकाका कर्मचारी , पदाधिकारी , वडा नम्बर १, २ ,३,४,६ का वडाअध्यक्ष ,वडा सदस्य ,कार्य पालिका सदस्य , न्यायीक समितिका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको उल्लेख सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०५-०८ , समय : १५:२५:०९ , २ घन्टा अगाडि