रुपन्देही खबर , ७० पटक हेरिएको
भैरहवा,वैशाख २७
रुपन्देहीमा लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने १७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जका प्राविधिक चिकित्सकसहितको टोलीले शनिबार “अपरेशन डेल्टा” सञ्चालन गरी चालकहरूमाथि विशेष जाँच गरेको थियो ।
सिद्धार्थ राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा आकस्मिक चेकपोइन्ट स्थापना गरी यात्रु बोकेका सार्वजनिक सवारी साधनका चालकहरूको परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १०० जना चालकको पिसाब परीक्षण (युरिन ड्रग टेस्ट) गर्दा १७ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको हो । उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नियन्त्रणमा पर्नेहरूमा तिलोत्तमा–१४ का २४ वर्षीय मंजिल परियार, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का २२ वर्षीय इमरान अली मुसलमान, तिलोत्तमा–६ का ४८ वर्षीय कुलप्रसाद रेग्मी, सिद्धार्थनगर–१ का ३८ वर्षीय सुरज राना, लुम्बिनी सांस्कृतिक–९ का ४४ वर्षीय सरिफ अहमद, तिलोत्तमा–५ का ३० वर्षीय विशाल मगर, तिलोत्तमा–३ का ४२ वर्षीय होमबहादुर क्षेत्री र तिलोत्तमा–१२ का २३ वर्षीय दिपेश कठरिया थारु रहेका छन् ।
यस्तै बुटवल–११ का ४७ वर्षीय सूर्यबहादुर विक, बुटवल–१३ का २६ वर्षीय प्रविण सिंजाली, कैलाली चुरे गाउँपालिका–५ का २५ वर्षीय मोहन राना मगर, अर्घाखाँची पाणिनी गाउँपालिका–६ का ३२ वर्षीय सुमन परियार, दाङ तुल्सीपुर–१५ का २७ वर्षीय सन्जु चौधरी, धादिङ गजुरी गाउँपालिका–५ का २४ वर्षीय जिपसन राई, नवलपरासी रामग्राम–१६ का २८ वर्षीय सन्तोषकुमार चौधरी, बर्दघाट–४ का ३४ वर्षीय ताराप्रसाद उपाध्याय तथा उदयपुर चौदण्डी–९ का २५ वर्षीय विवेक राई रहेका छन् ।
सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१० , समय : ०७:११:३७ , ५७ मिनेटutes अगाडि