रुपन्देहीमा रु. ३ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

रुपन्देही खबर , १६१  पटक हेरिएको

रुपन्देही, वैशाख २९

जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु. ३ लाख ८१ हजार ५९२ बराबरका सामान बरामद गरेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्र तथा विभिन्न नाकामा निगरानी बढाउँदै नियमित रूपमा चेकजाँच अभियान सञ्चालन गरिरहेको जनाएको छ। सोही क्रममा जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका खाद्यान्न, लत्ताकपडा तथा मोटर पार्ट्सका सामान नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार रोहिणी गाउँपालिका–२, खुरहुरिया बाट रु. २ लाख २८ हजार बराबरका दुई वटा मोटरसाइकलसहित ६ सय केजी काँचो केरा बरामद गरिएको हो। भारतबाट अवैध रूपमा भित्र्याइएका ती सामान मोटरसाइकलमार्फत ओसारपसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै सिद्धार्थनगर नगरपालिका–२, मेउडिहवा बाट रु. ५४ हजार ४ सय बराबरका ३० पिस लेडिज सुट, २०० केजी केरा, २५० एमएलको एक कार्टुन कोक तथा ५० केजी मैदा बरामद गरिएको प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

त्यसैगरी मायादेवी गाउँपालिका–६, गुरवनिया बाट रु. ९९ हजार १ सय ९२ बराबरका एक वटा मोटरसाइकलसहित मोटर पार्ट्सका सामान बरामद गरिएको छ। अवैध रूपमा ल्याइँदै गरेका मोटर पार्ट्सहरू मोटरसाइकलमा लोड गरी ओसारपसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सबै सामानहरू थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ। साथै सीमावर्ती क्षेत्रबाट हुने चोरी पैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई अझ कडाइ गरिने पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०५-१२ , समय : २०:१३:२० , २ दिन अगाडि