निजी क्षेत्रको मनोबल उकास्न सरकार गम्भीर बन्नुपर्छ : महासंघका नवनिर्वाचित पदाधिकारी

रुपन्देही खबर , ८०  पटक हेरिएको

भैरहवा, वैशाख ३०

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही सिद्धार्थनगर १२ भैरहवाले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा महासंघका नवनिर्वाचित जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सोमबार भैरहवामा आयोजित कार्यक्रममा निजी क्षेत्रका चुनौती, ठूला परियोजनाको सञ्चालन र व्यवसायिक वातावरण सुधारबारे गम्भीर छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले रुपन्देहीसहित लुम्बिनी क्षेत्रका राष्ट्रिय गौरव तथा आर्थिक महत्वका परियोजनाहरु अझै प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा निजी क्षेत्रले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) तथा एकीकृत जाँचचौकी (आईसीपी) भैरहवा जस्ता परियोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको सुझाव समेटेर सम्बन्धित निकायमा प्रभावकारी रूपमा आवाज उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ठूला पूर्वाधार निर्माण भएर मात्र नपुग्ने उल्लेख गर्दै तिनलाई उत्पादन, व्यापार, पर्यटन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताउनुभयो । “विजय भएर मात्रै खुसी हुने अवस्था छैन, काम धेरै छन् । समयमै चुनौती समाधान गर्न सकिएन भने लगानीकर्ता र व्यवसायी थप निराश बन्न सक्छन्,” उहाँले भन्नुभयो ।

शर्माले पछिल्लो समय उद्योगी व्यवसायीहरू उच्च बैंक ब्याजदर, बजारमा तरलता अभाव, घट्दो उपभोग क्षमता, लगानी असुरक्षा र नीतिगत अन्योलका कारण दबाबमा रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उकास्ने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
महासंघको एसोसिएटतर्फ निर्वाचित केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू सुरज उप्रेती, यज्ञप्रसाद भट्टराई, हरिप्रसाद अर्याल, मोहन श्रेष्ठ तथा केशव भण्डारीले उद्योगी व्यवसायीहरूबीचको एकता अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँहरूले निजी क्षेत्र कमजोर हुँदा समग्र अर्थतन्त्र प्रभावित हुने भएकाले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग, व्यापार, पर्यटन र सेवा क्षेत्रलाई पुनः चलायमान बनाउन नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रशासनिक सहजीकरण अपरिहार्य रहेको उहाँहरूको भनाइ थियो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकाका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा रहेका औद्योगिक तथा व्यापारिक सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष आचार्यले महासंघको निर्वाचनमा प्राप्त सफलताले रुपन्देहीको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा थप बलियो उपस्थिति दिलाएको उल्लेख गर्नुभयो । उहाँले सबै व्यवसायीको एकता, सहकार्य र सक्रियताकै कारण ऐतिहासिक सफलता सम्भव भएको बताउँदै आगामी दिनमा पनि व्यवसायीका हकहित र आर्थिक गतिविधि विस्तारका लागि साझा अभियान आवश्यक रहने बताउनुभयो ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वमा रुपन्देही तथा आसपासका जिल्लाबाट उल्लेख्य प्रतिनिधित्व भएकाले यस क्षेत्रका समस्या अब राष्ट्रिय स्तरमा थप सशक्त रूपमा उठान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२६-०५-१३ , समय : ११:०२:१७ , ४५ मिनेटutes अगाडि