रुपन्देही खबर , ६३ पटक हेरिएको
भैरहवा,वैशाख ३१
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका पाँच लाख ६३ हजार ६ सय रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा कपडा, किराना सामग्री, तरकारी, जिउँदो बोइलर कुखुरा लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्क क्षेत्रबाट दुई लाख ८५ हजार एक सय रुपैयाँ बराबरका १३७ थान लेडिज सुट, किराना सामान तथा तरकारी बरामद गरिएको छ ।
त्यसैगरी मायादेवी गाउँपालिका–६ खजुरियाबाट एक लाख ७७ हजार ६ सय रुपैयाँ बराबरको मोटरसाइकलसहित ८२ पिस टप्स र ५८ पिस लेडिज सुट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रोहिणी गाउँपालिका–४ छिपागढबाट २२ वर्षीय राहुद्दिन मुसलवानले मोटरसाइकलमा ल्याउँदै गरेको १२ वटा जिउँदो बोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य ६९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिका–६ पिप्रहियाबाट २७ हजार ४ सय रुपैयाँ बराबरका ५० पिस मेक्सी र ३ पिस झुल बरामद गरिएको छ भने रोहिणी गाउँपालिका–३ धकधईबाट ४ हजार ५ सय रुपैयाँ बराबरका ६ वटा जिउँदो बोइलर कुखुरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छली र अवैध आयातका घटना बढ्दै गएको भन्दै प्रहरीले चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१४ , समय : १३:५६:५४ , १ घन्टा अगाडि