उद्योगीमाथिको पक्राउप्रति सिद्धार्थ उद्योग वाणिज्य संघको आपत्ति

रुपन्देही खबर , ५०  पटक हेरिएको

भैरहवा,जेठ १

सिद्धार्थ उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिमाथि पछिल्ला दिनमा गरिएको पक्राउ तथा धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिलाई प्रारम्भिक अनुसन्धानकै चरणमा फौजदारी अभियुक्तसरह व्यवहार गरिनु उचित नभएको उल्लेख गरिएको छ ।

संघले यस्तो गतिविधिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गर्नुका साथै स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्यमी तथा व्यवसायी समुदायमा नकारात्मक सन्देश प्रवाह भएको जनाएको छ । बैंकिङ क्षेत्र आम सर्वसाधारणको निक्षेप र विश्वासमा आधारित संस्था भएकाले नियमित बैंकिङ प्रक्रिया वा कर्जा असुलीसँग सम्बन्धित विषयमा उच्च पदाधिकारीमाथि गरिएको पक्राउले बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता र साखमा प्रत्यक्ष असर पर्ने संघको भनाइ छ ।

विज्ञप्तिमा अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिँदै अनुसन्धान प्रारम्भ हुनु अगावै सार्वजनिक रूपमा व्यक्तिको मान–प्रतिष्ठामा असर पुग्ने गरी पक्राउ गर्ने, अनावश्यक प्रचार–प्रसार गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गरिएको छ । संघले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी नमानिने संवैधानिक व्यवस्थाप्रति सबै पक्ष संवेदनशील रहनुपर्ने जनाएको छ ।
विगत केही वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रको मनोबल उच्च बनाउने दिशामा सरकारबाट सकारात्मक पहलको अपेक्षा गरिएको भए पनि पछिल्ला घटनाक्रमले व्यवसायिक आत्मविश्वास कमजोर हुने र लगानी विस्तारको वातावरण प्रभावित हुने चिन्ता बढाएको संघले जनाएको छ ।

संघले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने, लगानीकर्तालाई सुरक्षित अनुभूति दिलाउने तथा कानूनी शासन र व्यावसायिक मर्यादालाई सुदृढ बनाउने वातावरण निर्माण गर्न सरकारसँग अपिल गरेको छ ।

प्रकाशित मिति: २०२६-०५-१५ , समय : २१:०७:०४ , १ घन्टा अगाडि