रुपन्देही खबर , ३६ पटक हेरिएको
भैरहवा, जेठ १
भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनायो । टोलीका लागि कृष्ण भुसालले ३६ रनको योगदान गरे भने विकल अधिकारीले २० रन बनाए । रोशन घिमिरे र लक्ष्मण कुमालले १७–१७ रन, प्रतीक भट्टराईले १३, मौसम ढकालले १२ र सन्दीप यादवले १० रन जोडे ।
बलिङतर्फ मेलवर्नका रमेश कुर्मीले ३ विकेट लिए भने आरिफ अहमदले २ विकेट हात पारे । दीपेश श्रेष्ठ, अशोक धामी र विपिन आचार्यले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मेलवर्नले ३२ ओभरमा ६ विकेट गुमाएर १६० रन बनाउँदै लक्ष्य पूरा गर्यो । असमान थारुले ३४ रन, विपिन आचार्यले अविजित ३३ रन, दीपेश श्रेष्ठ र आदित्य यादवले १८–१८ रन, अशोक धामीले १६ रन तथा आनन्द गौडले नटआउट १४ रनको योगदान गरे ।
नेपथ्य तिलोत्तमातर्फ कृष्ण भुसालले ३ विकेट लिए भने सन्दीप यादव, मौसम ढकाल र आशुतोष पाण्डेले १–१ विकेट लिए । खेलमा रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित हुँदै १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता पुरस्कार र विके ज्वेलर्सले उपविजेता पुरस्कार प्रायोजन गरेका छन् । साथै विभिन्न संघ–संस्था तथा व्यवसायीहरूले समेत प्रतियोगितामा प्रायोजन सहयोग गरेका आयोजकले जनाएका छन् ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : २२:३३:१६ , १ घन्टा अगाडि