रुपन्देही खबर , ५४ पटक हेरिएको
भैरहवा, जेठ ८
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा भारत उत्तर प्रदेश नौगढ ककरहवाका ३८ वर्षीय अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय बिक्की भन्ने अनिल पासीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर, प्रिन्टर, मोनिटर, मोबाइल, कैची तथा नक्कली नोटहरू बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामग्रीमा एउटै नम्बर ‘ङ २५ ०२४९१२’ रहेको नेपाली ५ सय दरका ३० थान नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी रहेका ७ थान नोट, एक थान सीपीयू, एक थान प्रिन्टर, एक थान मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र एक थान कैची रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२६-०५-२२ , समय : २२:१९:२७ , ३ घन्टा अगाडि