यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न तानसेनमा नगरस्तरीय परामर्श

रुपन्देही खबर , ४५  पटक हेरिएको

पाल्पा,जेठ १०

“समावेशी समाज निर्माणमा सबैको सहभागिता” भन्ने मूल नारासहित साहसी कदम नेपालले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायको अधिकार, सम्मान र सामाजिक समावेशिताका विषयमा तानसेनस्थित होटल पौवामा नगरस्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
तानसेन नगरपालिकाका प्रमुख शन्तोषलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, महिला समूह, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेद र अस्वीकारको अवस्था रहेकाले यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले गत वर्ष सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएकै कारण यस वर्ष पनि नगरपालिकाले साहसी कदम नेपाललाई बजेट विनियोजन गरी सहकार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो । साथै आफ्नो कार्यकालभरि समावेशी नीति तथा समुदायमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका क्रममा साहसी कदम नेपालले नगर प्रमुख श्रेष्ठलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।

कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक शाखा अधिकृत कौसलराज घिमिरे, साहसी कदम नेपाल पाल्पाका संयोजक सानु खनाल, सञ्चारकर्मीको तर्फबाट जयराम सापकोटा तथा सहभागीहरूको तर्फबाट सुन्दर प्रसाद श्रेष्ठ लगायतले समावेशी समाज निर्माणका लागि स्थानीय तह, समुदाय, विद्यालय र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

वक्ताहरूले यौनिक तथा लै्गिक अल्पसंख्यक समुदायलाई समाजको मूलधारमा समेट्दै सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति: २०२६-०५-२४ , समय : १५:३४:०२ , २ घन्टा अगाडि