रुपन्देही खबर , ४ पटक हेरिएको
तस्वीर : क्यान
काठमाण्डाै,जेठ १३
एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा चीनलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । मलेशियाको बायोमास ओभलमा आज भएको समूह ‘बी’ को खेलमा नेपालले चीनलाई १९ रनले हरायो । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्र बनाउन सक्यो । चीनकी मिङए झुले ३० रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो । नेपालकी पूजा महतोले ६३ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् । योसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इन्डोनेशियासँग खेल्नेछ ।
प्रतियोगितामा आजै भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डले मलेशियालाई ७ विकेटले हरायो । ६ वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एशियाली खेलकुदका लागि छनोट हुनेछन् ।
प्रकाशित मिति: २०२६-०५-२७ , समय : २२:१४:३८ , ५९ मिनेटutes अगाडि